१९८ अक्सिजन सिलिण्डर स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा

खलंगा, २२ जेठ । जिल्ला अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजन सिलिण्डर प्रर्याप्त भएका छन् । भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले निर्धारित समयमै अक्सिजन सिलिण्डर खरिद गरेर स्वास्थ्य सेवा कार्यालयलाई बुझाएपछि जिल्ला अस्पताललाई कोरोना बिरामीको उपचार गर्न अक्सिजन सिलिण्डर प्रर्याप्त भएको हो ।

भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले बुधबार १ सय वटा अक्सिजन सिलिण्डर स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई बुझाएको छ । ४० वटा अक्सिजन सिलिण्डर एक हप्ता भित्रै बुझाउने भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटका प्रोपराईटर भीम बहादुर महताराले जानकारी दिए ।

भ्याट बाहेक ३६ लाख ३६ हजार मुल्यमा १ सय ४० वटा अक्सिजन सिलिण्डर खरिद गरेर ७ दिन भित्रै कार्यालयलाई बुझाउने गरि यहि जेठ ९ गते स्वास्थ्य सेवा कार्यालयसँग भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा ४० वटा बाँकी राखेर १ सय वटा अक्सिजन सिलिण्डर ल्याई पुर्याउदा पनि कार्यालयले सिलिण्डर राख्ने ठाउँको ब्यबस्थापन गर्न नसकेको प्रोपराईटर महताराको भनाई रहेको छ ।

सम्झौता अनुसार भवानी प्याथोक्याम सप्लायर्सले कार्यालयलाई १ सय ४० वटा अक्सिजन सिलिण्डर बुझाएपछि जिल्ला अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्न तत्काल अक्सिजनको अभाव नहुने स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले जानकारी दिएका छन् । सप्लायर्सले ल्याएका १ सय ४० वटा अक्सिजन सिलिण्डर सहित हाल जिल्ला अस्पतालमा १सय ९८ वटा चालु अबस्थाका अक्सिजन सिलिण्डर हुन्छन् निमित्त व्यवस्थापक जैसीले भने–‘५० शैयाको जिल्ला अस्पतालमा हाल भवन अभावका कारण ३१ वटा बेड संचालनमा ल्याएका छौं भने, कोरोना उपचारको लागि अक्सिजन सिलिण्डर सहितका २२ वटा आइशोलेसन बेड संचालनमा ल्याएका छौं ।’

जिल्ला अस्पतालमा पहिले नै चालु अबस्थामा रहेका ४८ वटा अक्सिजन सिलिण्डर मध्ये १० वटा अक्सिजन सिलिण्डर संघीय सरकारले केहि दिन पहिला अस्पतालमा पठाएको जैसीले जानकारी दिएका छन् । एक सांसद तथा एक निर्वाचन क्षेत्र १० वटा अक्सिज सिलिण्डर कार्यक्रम अन्तरगत संघीय सरकारले जाजरकोट जिल्ला अस्पताललाई १० वटा अक्सिजन सिलिण्डर पठाएका थियो ।

तपाईको प्रतिक्रिया