सकियो सम्झौता अवधि, जडान भएन अक्सिजन प्लान्ट

कारबाहीका लागि कार्यालय अलमलमा

खलंगा, २२ जेठ । ठेक्का अवधि सकिए पनि जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन्  । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना संक्रमितलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौंको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको सुरुमै बजेट आए पनि टेन्डर प्रक्रियामा जान ढिलाइ भएको हो  ।

ठेक्का सम्झौता अनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया पनि अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिन्डर भर्न नेपालगन्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैसीले बताए  ।

‘ठेक्का सम्झौताबमोजिम तोकेको समयभित्र काम नगर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर धरौटी जफत गरी ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेका छौं,’ उनले भने, ‘हामीले पटकपटक ताकेता गरे पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको छ ।’ नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ  ।

तर कार्यालयले ५ दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैसीले बताए  । उनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा ५ दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उनले बताए  ।

नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताए । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारबाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना संक्रमितलाई अक्सिजन दिन समस्या भएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा कोराना संक्रमितको उपचारमा समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमिन शाहले बताए । ‘प्लान्ट जडान भए संक्रमितको उपचारमा सहयोग पुग्थ्यो,’ उनले भने, ‘अहिले जटिल समस्या भएका बिरामीलाई नेपालगन्ज र सुर्खेत रेफर गर्नुको विकल्प छैन ।’

तपाईको प्रतिक्रिया