कर्णाली सरकार हेरफेर : इतिहासमै पहिलो दलित महिला मन्त्री !


जाजरकोट, २९ वैशाख । दलित समुदायकाे महिला सीता नेपाली नेपालकै इतिहासमा पहिलो मन्त्री बनेकी छिन् । नेकपा माओवादी कर्णाली प्रदेशकी प्रमुख सचेतक समेत रहेकी नेपाली कर्णाली प्रदेश सरकारमा जनस्रोत मन्त्री बनेकी हुन् ।

बुधबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालीलाई जलस्रोत मन्त्री, बिन्दमान बिष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गोपाल शर्मालाई आर्थिक तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म लबिङ गरेकी नेपालीलाई कर्णालीका मुख्यमन्त्री शाहीले भौतिक विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन् ।

अध्येता तथा अभियान्ता जेवी विश्वकर्माले नेपालको इतिहासमा दलित महिलाबाट सीता नेपाली पहिलो मन्त्री बनेको बताए । उनका अनुसार यसअघि संघीय सरकारमा दलित समूदायबाट थुप्रै मन्त्री बनेपनि दलित महिलालाई भने राज्यमन्त्री र सहायकमन्त्री मात्रै बनाइएको थियो ।

सीता नेपाली भने प्रदेशमा पहिलो दलित मन्त्री बन्न सफल भइन् । यसअघि प्रदेश १ मा जसमाया गजमेरलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । तर उनले केही समयमै राजीनामा दिनुपर्यो । समावेशी हकमा पनि कर्णाली प्रदेश पहिलो बनेको छ ।

दलित महिलालाई मन्त्री बनाएर तत्कालिन माओवादीले भनेजस्तो समावेशी र समानुपातिक मागलाई सम्बोधन गर्ने कर्णाली पहिलो प्रदेश बनेको हो । अन्य प्रदेशमा अहिलेसम्म एक जना पनि दलित मन्त्री छैनन् ।

यसरी सुरु भयो सिताको राजतितीक यात्रा
तत्कालिन नेकपा माओवादीबाट दश वर्षे जनयुद्धमा होमिएकी नेपाली सुर्खेत लेकबेसी नगरपालिका ४ की स्थायी बासिन्दा हुन् । उनी २०३१ सालमा सुर्खेत लेकबेसीमा जन्मेकी हुन् । उनले स्नातक सम्मको अध्ययन गरेकी छिन् । कानुनका क्षेत्रमा पनि उनले एलएलबी गरेकी छिन् । राजनीति र वकालत दुवैमा उनी लामो समयदेखि संघर्षरत थिइन् ।

चालिसको दशकको अन्त्यतिर शिक्षा क्याम्पस सुर्खेतमा पढ्दै गर्दा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएकी थिइन् । विद्यार्थी राजनीतिमा छँदा नै उनी विद्रोही स्वभावकी थिइन् । दश वर्षे जनयुद्धमा उनको पार्टीको नाम रक्षा थियो । उनले माओवादी जनयुद्धमा होमिएकै बेला जीवन्तसँग अन्तरजातीय विवाह गरिन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनले २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । तर त्यतिबेला उनी थोरै मतान्तरले पराजित भइन् ।

त्यसयता निरन्तर माओवादीको राजनीतिमा सक्रिय रहेकी उनी २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा भने समानुपातिकबाट सभाषद भइन् । संविधानसभा सदस्य भएपछि उनले दलित महिला क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान लेखनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

संविधानसभा सभाषद रहेकै बेला उनी माओवादी केन्द्रको सचेतक समेत भइन् । केन्द्रीय सचेतक भएपछि पनि उनी देश संघीयतामा गएपछि प्रदेशको राजनीतिमा होमिइन् । कर्णाली प्रदेश सभा सदस्य रहेकी उनी २०७७ साल असोजमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रमुख सचेतक भइन् ।
त्यतिबेला उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन आफ्नो ठाउँबाट भूमिका खेलेकी थिइन् । दलित अधिकारका लागि लड्दै आएकी उनी अहिले नेपालकै इतिहासमा पहिलो दलित महिला मन्त्री बन्न सफल भएकी छिन् । कर्णालीखबर बाट साभार गरिएकाे

तपाईको प्रतिक्रिया