चौरजहारी अस्पताल आउने बाटोमा स्थानीयले तारवार लगाएपछि…………..

unn.prixa.net

रुकुम पश्चिम, १६ वैशाख ।  रुकुम पश्चिमको चौरजहारी अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बितिसक्दा पनि बाटो खुलाउने प्रयास भएको छैन । अस्पताल जाने बाटोमा केही स्थानीयवासीले तारबार लगाएर बन्द गरेपछि एम्बुलेन्स तथा गाडीमा अस्पताल ल्याइने बिरामीहरूले सास्ती खेप्नु परेको छ । गएको चैत २६ गतेदेखि चौरजहारी बजारबाट अस्पताल जाने त्यस बाटो बन्द अवस्थामा छ । अस्पताल आउने मूल बाटो बन्द भएपछि बिरामी बोकेर आएका एम्बुलेन्स तथा गाडीहरू कि लामो बाटो घुमेर आउनुपर्ने कि त गाडीबाट झारेर–बोकेर अस्पतालभित्र ल्याउनुपर्ने अवस्था रहेको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

आफ्नो घर तथा पसल पायक पर्ने ठाउँबाट बाटो नबनाएको भन्दै केही स्थानीयवासीले बाटो बन्द गरेको प्रमुख प्रशासक गिरीको भनाइ छ । ‘पहिले नयाँ बाटोको लागि जग्गा उपलब्ध गराउन उहाँहरू सहमत हुनुभएको हो’, उनले भने –‘अहिले आएर केही व्यक्तिले आफ्नो व्यापार व्यवसाय कम भएको भन्दै आफ्नो जग्गा भएर जाने बाटो बन्द गरेको अवस्था हो ।

लामो समयसम्म अस्पतालले मूल प्रवेशद्वारको टुङ्गो नलगाएको र चलनचल्तीमा रहेको गोरेटो बाटो बन्द गरेकाले निकासका लागि नयाँ बाटो बन्द गरेको स्थानीयवासीले बताएका छन् । पुरानो बाटो साँघुरो भएपछि नयाँ बाटो खोल्नु राम्रो भए पनि पुरानो बाटोलाई बन्द गरेर अस्पतालले स्थानीय व्यापार व्यवसायलाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।

अस्पताल जाने बाटो बन्द भएको तीन हप्ता बित्दा पनि कहीँ कतैबाट बाटो खुलाउने प्रयास भएको छैन । यस विषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर बाटो सञ्चालन गरिने बताए । यसअघि बाटो बन्द भएको जानकारी आफूलाई प्राप्त नभएको समेत उनले बताए ।
सुरुमा अस्पताल नजिकैको बजार क्षेत्रमा सानो बाटो चल्तीमा रहेको थियो । अस्पतालमा बिरामीको चाप बढेसँगै एम्बुलेन्स, गाडीसमेतको आवाजजावत बढेपछि स्थानीयवासीकै सहमतिको अर्को बाटो सञ्चालन गरिएको थियो ।

सडक ग्राभेल गर्ने बेला बन्द

चौरजहारीको मूल सडकदेखि मिसन अस्पतालसम्मको झन्डै एक किलोमिटर यस सडक यसै वर्ष ग्राभेल गरिसक्ने चौरजहारी साना सहर आयोजनाको तयारी रहेको छ । तर स्थानीयवासीले नै बाटो अवरोध गरेपछि समयमै काम सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको छ ।

आयोजनाका प्रमुख धीर फडेराले असार मसान्तसम्म बाटो ग्राभेल गरिसक्ने बताए । स्थानीयवासीको अवरोध कायमै रहेमा बाटो बन्द गरिएको ठाउँसम्म भए पनि ग्राभेल गरिसक्ने फडेराले बताए । स्थानीयस्तरमा छलफलको वातावरण भएमा बाटो खुल्ने विश्वास उनको रहेको छ । बाटो ग्राभेल गर्नलाई कार्यालयले क्याराभान कन्ट्रक्सन प्रालीसँग झन्डै ३२ लाख रुपैयाँ बजेटसहितको ठेक्का ताए सम्झौता गरिसकेको छ ।

तपाईको प्रतिक्रिया