सदरमुकाममा खानेपानीको हाहाकार !

कालीकोट, १६ वैशाख । जिल्लाको सदरमुकाम मान्म बजारमा केही महिनादेखि खानेपानीको समस्या बढ्दै गएको छ । यहाँका स्थानीयले केही महिनायता खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको मुटु मानिने खाडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको नागरिकको आरोप छ। मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै गए पनि मान्ममा बसोबास गर्ने नागरिकले खाडाचक्र नगरपालिका–१ को वडा कार्यालयमा ताला पनि लगाएका थिए भने खाडाचक्र नगरपालिकामा रित्तो गाग्री प्रदर्शन गरेका थिए। नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटले जिल्ला प्रशासन कार्यालय, नगरपालिका र वडा कार्यालयलाई ध्यानाकर्षण पत्र पनि दिएको थियो ।

पत्रपश्चात् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले तत्काल सर्वपक्षीय बैठक बोलाएर खानेपानी समस्या समाधान समिति पनि गठन गरे। समितिले खानेपानीको मान्म सदरमुकामबाट करिब ११ किलोमिटर टाढा रहेको मुहानसम्म पुगेर निरीक्षण पनि ग¥यो । मुहानमा खानेपानी प्रयाप्त भए पनि सम्बन्धित निकायले मर्मत नगर्दा मान्ममा खानेपानीको समस्या भएको नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रमेश सुनार (सोनि)ले बताए। उनले खानेपानी प्रयाप्त भए पनि सम्बन्धित निकायले खानेपानीको मुहान मर्मतदेखि पाइप लाइन विस्तारमा चासो नदेखाउँदा खानेपानीको समस्या भएको बताए।

शिविरमा बोकेरै पानीको जोहो
जिल्लामा रहेको आँखा उपचार केन्द्रले केही दिनअघि मान्ममा शिविरको आयोजना ग¥यो। शिविरमा उपचार गर्न आएका जिल्ला र जिल्ला आसपासका नागरिकले मान्ममा खानेपानीको समस्या झेल्नुप¥यो। आँखाका बिरामीलाई पिउने पानीको व्यवस्था गर्न सदरमुकाम मान्मभन्दा करिब २ किलोमिटर पर ओखढेनीबाट २ जना भरियामार्फत पानी ल्याएर ल्याइएको थियो।

पानीको अभावमा शौचालयसमेत प्रयोग गर्न समस्या भयो। सदरमुकाम आसपासमा पानीको स्रोत नहुँदा एउटै मूलको भरमा सिङ्गो वडा नै रहेको स्थानीय व्यापारीको भनाइ छ । यता, खाडाचक्र नगरपालिकाका नगरप्रमुख जसीप्रसाद पाण्डेले मान्मको खानेपानी समस्या समाधानका लागि नगरपालिका गम्भीर भएर लागेको बताए। उनले मान्मको खानेपानीको समस्या समाधान गर्नका लागि चुलीको पानीका लागि टेन्डर भई काम सुरु भएकाले मान्ममा आफ्नै कार्यकालमा खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया