
नेपाल पशुजन्य उत्पादन मासु, अण्डा र माछामा आत्मनिर्भर भएको घोषणा सरकारले गरेको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नु भएको हो ।
विश्व खाद्य सङ्गठनको मापदण्ड अनुसार वार्षिक उपभोग गर्नुपर्ने परिमाणको उत्पादन देशमै हुन थालेपछि आत्मनिर्भर भएको घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतबाट रासायनिक मल उत्पादन गर्ने काराखाना स्थापना गरिने बताउनुभयो । खेर जाने विद्युतको सदुपयोग हुने गरी कारखाना स्थापनाका लागि छुट्टै परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले अबको दुई वर्षमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी सरकार लागिपरेको उल्लेख गर्नुभयो । कृषिजन्य उत्पादन वार्षिक रूपमा वृद्धि भइरहेकोले आगामी ५ वर्षमा निर्यात गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।
पोल्ट्री व्यवसायी टिकाराम पोख्रेलले कुखुराको दाना बनाउने कच्चापदार्थका लागि मात्रै वार्षिक ५० अर्ब बाहिरने गरेकोले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । कुखुराको दानाका लागि भटमासको पिना शतप्रतिशत बाहिरबाट ल्याउनु पर्ने र मकैसमेत ६० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
ह्याचरी उद्योगमा २ सय अर्बभन्दा बढी लगानी रहेको बताउँदै व्यवसायी पोख्रेलले उत्पादन लागत घटाउन नेपालमै कच्चापदार्थ उत्पादन गर्नु पर्ने धारणा राख्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पशुपन्छी तथा मत्स्य क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, धनुषाका माछापालक किसान रामसोवित मुखिया, भरतपुर चितवनका पोल्ट्रि व्यवसायी गुणचन्द्र विष्ट हुनुहुन्छ ।
धुलो दूध उत्पादन गर्ने सुजल डेरी, सुदूरपश्चिममा बङ्गुरपालक किसान कलावती भट्ट, मुस्ताङका च्याङ्ग्रापालक किसान माया विष्ट पनि सम्मानित हुनुभएको छ । रुपन्देहीका गाइपालक किसान यज्ञमुर्ति खनाल, सुर्खेतका बाख्रापालक किसान मुना पोखरेल, डेरी व्यवसायी सुष्मा शर्मा र दुधजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतीक चिन्हका डिजाइनर सुयोगराज काफ्ले पनि सम्मानित हुनु भएको छ ।
















































। १२ चैत्र २०७७, बिहीबार