
जाजरकोट, ११ चैत्र । जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलंगामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापना सँगै विधिवत रूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्यांक कार्यालय सुर्खेतबाट केही कर्मचारी खटाएर कार्यालय स्थापना गरिएको हो । जिल्लामा जनगणना २०७८ का लागि तीन सय चार जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो ।
जम्मा ६४ सुपरिवेक्षक र दुई सय ४० जना गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनकबहादुर बोहराले जानकारी दिए । प्रमुख बोहराका अनुसार सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।
यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ । यसका लागि अनलाइन मार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको छ । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो । करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ ।
फागुन मसान्तसम्म अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्ने कार्यालय प्रमुख बोहराले जानकारी दिए । अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । ‘बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस् भनेर करारमा लिन थालिएको हो’ प्रमुख बोहराले भने ।
यसले धेरै शिक्षित भएपनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाई छ । जिल्लामा भेरी नगरपालिका, नलगाड नगरपालिका र छेडागाड नगरपालिकामा स्थानिय जनगणना कार्यालय रहने भएका छन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिनेछ ।
त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति रहने ब्यवस्था मिलाईएको छ ।
















































। ११ चैत्र २०७७, बुधबार