
कालीबहादुर नेपाली
जाजरकोट, ९ चैत्र । जिल्लाका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ । विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको छ ।
जिल्लाको बारेकोट गाउँपालिकाको नायकवाडा, रोकायगाउँ, रामीडाडाँ, सक्ला, नलगाडको भगवती,रग्दा पश्चिमी जाजरकोटका तीन स्थानीय तहका अधिकांश वडाहरुमा यस्तो समस्या देखिएको हो । सदरमुकाम खलंगा क्षेत्र भित्र नै यस्तो समस्या रहेको छ ।
दलित भित्रका कामी, विक र नेपालीले अन्य दलितलाई बोलाउँदा समेत तिमी, तँ भनेर बोलाउँछन् भने बादी, लुहार, दमाईं, सार्कीले भने उनीहरुलाई तपाईं भनेर बोलाउने गरेको पाइएको छ ।
दलितभित्र नै विभेद रहेका कारण छुवाछूत प्रथा हट्न निकै मुस्किल भएको बारेकोट गाउँपालिका २ का भीमबहादुर नेपालीले बताए । युवाहरुले यो विभेदलाई हटाउन खोजे पनि सवै युवा शिक्षित नहुनु, पाका उमेरका मानिस पुरानो संस्कार छाड्न नमान्नु विभेद नहट्ने समस्या भएको उनको भनाई छ ।
धारामा पानी भर्दादेखि भान्सा सम्म दलितले दलितलाई नै विभेद गर्ने गरेका छन् । बारेकोट गाउँपालिका २ रोकायगाउँका धर्मराज परियारले भने, ‘पुराना संस्कार, रीतिस्थितिको अन्त्य भएको छैन, हामी चलेको चलन नै चलाउँछौँ ।’
विभेदका विषयमा खुलेर पढे लेखेका युवाले विरोध गरेपनि बूढापाकाले पुरानो संस्कारलाई नै निरन्तरता दिनु र युवा पिढीँलाई बूढापाकाले विरोध नगर्न दवाव दिएपछि विभेद हट्न थप मुस्किल भएको छ । दलित भित्रको विभेदले गैरदलित संग झनै विभेद हुने देखिन्छ ।
‘दलित भित्रको विभेद तोड्नुपर्छ’
५६ औँ अन्र्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा जिल्लामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा दलित भित्रको विभेद पहिले तोड्नुपर्ने बताइएको छ । प्रत्येक बर्ष मार्च २१ मा मनाईने दिवस अन्र्तगत यस बर्ष भएको अन्तरक्रिया कार्यक्रममा दलित भित्रको विभेद पहिला तोड्नुपर्ने दलित अधिकारकर्मीको भनाई छ ।
‘दलित भित्रको विभेद अहिले पनि कायमै छ, अरुलाई भन्नुभन्दा पहिले हामी परिवर्तन हुन सिक्नुपर्छ, हामीले विभेद गर्न छोडौँ दलित अधिकारकर्मी शिला नेपालीले भनिन् ।’ कार्यक्रममा सहभागीहरुले दलित समुदाय भित्र एकताको आवश्यक रहेको बताएका छन् । दलित गैरसरकारी संस्था नेपालका केन्द्रिय सदस्य हजारी नेपालीले भनिन्, ‘पहिले दलित भित्रको समस्या हल गरौँ, अनि मात्र हामीले अरु संग विरोध गरौँला ।’
जाजरकोट जिल्लामा दलितले दलित माथीको विभेद कायमै रहेकोले निकै समस्या भएको दलित अधिकारकर्मीहरुको भनाई छ । पटक पटक छुवाछुत अन्त्यका लागि गरिएका कार्यक्रमहरु नहुँदा गरिवी,अशिक्षा र वेरोजगारीको समस्याले यस्ता खालका कुसंस्कार कायम रहेको राष्ट्रिय दलित नेटवर्क जाजरकोटका अध्यक्ष गोपाल नेपालीले बताए ।
उनले भने, ‘यहाँका दलित समुदाय भित्रको गरिवी र अशिक्षाले निकै समस्या पारेको छ ।’ यसले दलित भित्रको विभेद कायम रहेको उनको भनाई छ । पहिले आफु भित्रको विभेद अन्त्य गर्न सके सभ्य समाजको परिकल्पना गर्न सकिन्छ ।
















































। ९ चैत्र २०७७, सोमबार