
जाजरकोट, ८ चैत्र । जिल्लाको बारेकोट गाउँपालिकाको चार स्थानमा अस्थायी प्रहरी पोस्टको माग गरिएको छ । गाउँपालिका भित्र असुरक्षा देखि जंगली वन्यजन्तुको चोरी पैठारी हुने भएकोले अस्थायी प्रहरी पोस्टको माग गरिएको हो ।
शनिवार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा गाउँपालिका केन्द्र लिम्सामा पुगेको वेला गाउँपालिकामा अस्थायी प्रहरी पोस्टको आवश्यकता रहेको भन्दै चार ठाउँमा प्रहरी पोस्टको माग गरिएको गाउँपालिका उपाध्यक्ष ओमा कुमारी शाहीले जानकारी दिईन् ।
उनका अनुसार प्रजिअ देवकोटालाई कार्यान्वयन पत्र लेख्दै गाउँपालिका केन्द्र लिम्सामा सशस्त्र प्रहरी वेस क्याम्प स्थापना गर्ने, वडा नं ४ को दह, ६ को धुमा घर्तीगाउँ, मुल्साममा अस्थायी प्रहरी पोस्टको माग गरिएको छ । गाउँपालिका प्राकृतिक सम्पदाको प्रचुर सम्भावना बोकेको भएकोले यहाँको जडीवुडीको चोरी पैठारी रोक्न सहयोग पु¥याउन समेत आग्रह गरिएको छ । यस्तै, गाउँपालिकामा शान्ति सुरक्षा लगाएत विविध बिषयमा अन्तरक्रिया गरिएको छ ।
बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सामा प्रजिअ देवकोटाले शनिबार सरोकारवालाहरुसंग अन्तरक्रिया गरेका हुन् । समग्र बारेकोट गाउँपालिकामा शान्ति सुरक्षाको अबस्था, घटना दर्ता, नागरिकता सिफारिस, मदिरा नियन्त्रण, वन्यजन्तुको चोरी सिकारी तथा नियन्त्रण सम्बन्धि प्रजिअ देवकोटाले सरकारवालाहरुसंग अन्तरक्रिया सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बारेकोट गाउँपालिकामा रहेको प्रकृति र संस्कृतीको जानकारी दिदै गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बारेकोटको पूर्वाधार विकाससंगै भित्रिएका विकृती र बिसंगतिका बिषयमा प्रजिअ देवकोटालाई जानकारी गराएका थिए ।
बारेकोटका विकृति र विसंगतिलाई नियन्त्रण गर्न शान्ति सुरक्षालाई सुदृढ गर्नु पर्ने बताउदै अध्यक्ष शाहले प्रजिअ देवकोटालाई निर्णय कार्यान्वयन गर्न ४ बुदेँ लेखित पत्र हस्तान्तरण गरेका थिए । अध्यक्ष शाहले निर्णय कार्यान्वयन गर्न प्रजिअ देवकोटालाई बुझाएको लेखित पत्रमा नलगाड जलविद्युत आयोजनाले अधिकरण गरेको क्षेत्रभित्र मुल्याङ्कण गर्न छुट भएका घरहरुको पुनः मुल्याङ्कण गर्न अनुरोध गरिएको छ ।
त्यसैगरी गाउँपालिकाको प्रशासनिक केन्द्रमा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापना गर्नुपर्ने, २५ असार २०७७ को बाढी पहिराले गाउँपालिकाका विभिन्न बस्तिमा पूर्णरुपमा क्षेति भएका घरहरुको पुर्न निर्माण गर्ने प्रक्रियालाई अगाडी बढाउनुपर्ने उल्लेख गरिएको छ । बारेकोट गाउँपालिका भित्रका ९ वटै वडा सडक सञ्जालमा जोडिए संगै आवातजावतमा निकै सजिलो भएको छ । गाउँपालिकाको केन्द्र लिम्सा सम्म कालोपत्रे गर्ने कामको सम्झौता समेत भईसकेको गाउँपालिकाले जनाएको छ ।
















































। ८ चैत्र २०७७, आईतवार