ह्यारी दम्पती राजदरबारमा भोग्नुपरेको विभेदबारे बेलायती महारानीद्वारा दुःख

एजेन्सी : बेलायती महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख व्यक्त गरेकी छन्।

महारानी एलिजावेथको तर्फबाट एक विज्ञप्ति जारी गर्दै बकिङ्घम प्यालेसले भनेको छ– ‘ह्यारी र मेघनका लागि बितेका केही वर्ष कठिन थिए भन्ने थाहा पाएर पूरै परिवार दुःखित भएको छ। ह्यारी र मेघनले उठाएको रंगभेदको कुरा ध्यान दिनै पर्ने खालको छ।’ ह्यारी र मेघनले उठाएको विषयलाई गम्भीरतापूर्वक लिइएको र परिवारभित्रैबाट सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ।

वक्तव्यमा शाही परिवारका सदस्य ह्रयारी, मेघन तथा उनका छोरा आर्चीलाई सधैं प्रेम गरिने उल्लेख छ। ओप्रा विन्फ्रेलाई दिइएको अन्तर्वार्तामा ह्यारी तथा मेघनले शाही परिवारका एक सदस्यले ह्यारीसँग उनका छोराको रंग कति कालो हुनसक्छ भनेर प्रश्न सोधेका खुलासा गरेका थिए।

यद्यपि, ह्यारीले अन्तर्वार्ताकै क्रममा उक्त टिप्पणी महारानी अथवा प्रिन्स फिलिपले नगरेको पनि स्पष्ट पारेका थिए। मेघनले बेलायती राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याएको खुलासा गरेकी थिइन्। मेघन बेलायती राजपरिवारमा मिश्रित रंगकी पहिलो सदस्य हुन्।

अन्तर्वार्ता सार्वजनिक भएपछि बकिङ्घम प्यालेसलाई रंगभेदको विषयका बारेमा जवाफ दिनका लागि लगातार दवाव बढिरहेको थियो। ह्यारी र मेघनले सन् २०२० मा राजपदवी त्याग गर्ने निर्णय गरेका थिए। उनीहरुले गत वर्ष नै बेलायत तथा उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया