भुरमा भलिवल प्रतियोगिता : प्रथम पुरुस्कार चालीस हजार

जाजरकोट, १२ फागुन । जिल्लाको भेरी नगरपालिका ५ भुरमा खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आर्थीक सहयोग तथा भेरी यूवा क्लवको आयोजनामा उक्त प्रतियोगिता सुरु गरिएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मंगलबार विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिएको भेरी यूवा क्लव भुरका अध्यक्ष हिराप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा खुल्ला पुरुष भलिवल र लोकगीत प्रतियोगिता सञ्चालन गरिने छ । जसअन्तर्गत पुरुष भलिवलमा प्रथम पुरुस्कार ४० हजार, दोस्रो २५ र तेस्रो पुरुस्कार १५ हजार सहित प्रमाण पत्र रहेको छ । लोकगीत प्रतियोगितामा प्रथम ५ हजार, दोस्रो ३ र तेस्रो २ हजार रहेको अध्यक्ष शर्माको भनाई छ ।

पछिल्लो समय यूवाहरुको खेलप्रतिको चासो घट्दै गएकोले खेलप्रतिको रुचि बढाउन उक्त प्रतियोगिता सुरु गरिएको शर्माले बताए । खेल र खेलाडीको विकासका लागि नगरपालिका सधै सकारात्मक रहेको नगर उपप्रमुख भावना भण्डारीले बताईन् । उनले भनिन्, ‘नगरपालिका खेल र खेलाडीका विषयमा सकारात्मक छ, यस्ता काम गर्ने क्लवहरुलाई सधै नगरपालिकाले सहयोग गर्नेछ ।’ अध्यक्ष शर्माले, क्लवले गरेको बार्षिक प्रगति विवरण समेत प्रस्तुत गरेका थिए ।

सञ्चालन गरिएका विभिन्न कार्यक्रमको उद्धघाटन उपप्रमुख भावना भण्डारीले व्यानर खोल्नुका साथै दिपप्रज्वलन गरेर गरेकी थिईन् । मंगलबार सम्म खुल्ला भलिवलका लागि आठ समुहले काम दर्ता गरेका छन् । बालविवाह न्युनीकरणका लागि दिपेन्द्र माद्यामिक विद्यालयका विद्यार्थीहरुले सडक नाटक समेत प्रस्तुत गरेका थिए ।

भुरमा रहेको पौराणिक नाँच खाँडो नृत्य प्रस्तुत गरेका थिए । यस्ता संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका कारण संरक्षणको आवश्यकता परेको नाँच समुहका अगुवा अमर वलीले बताए । नगर उपप्रमुख भण्डारीले आगामी दिनमा यस्ता नाँचहरुको संरक्षणका लागि नगर कार्यपालिकामा छलफल गरिने बताईन् ।

यस्ता सस्कृति नगरपालिकाका सम्पती भएको समेत उनको भनाई छ । खेल प्रतियोगिता आगामी फागुन १३ गते सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया