पुग्यो सडक, फेरिए सपना

बारेकोटमा ६० किलोमिटर नयाँ सडक ट्याक ओपन, ८ वडामा पुग्यो सडक


जाजरकोट, ७ फागुन । जिल्लाको दुर्गम गाउँपालिका बारेकोट सडक सञ्जालमा जोडिए संगै यहाँका स्थानीयहरुको दैनिक फेरिन थालेको छ । सडकले विभिन्न सामग्रीहरु गाउँमै पुगेपछि स्थानीयहरु व्यवसायमा जम्न थालेका हुन् । केही वर्ष अघिसम्म बारेकोटबाट सदरमुकाम खलंगा जान तीन दिन जति पैदल हिड्नुपथ्र्यो ।

हिजोआज बारेकोट–खलंगा आवतजावत गर्न करिब पाँच घण्टाको समय पर्याप्त हुन्छ । बारेकोटका दुर्गम गाउँबस्तीहरु सडक सञ्जालले जोडिन थालेपछि स्थानीयको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । कुनै समय बाँकेको नेपालगन्ज, सल्यानको शितलपाटी, चाक्लीघाटबाट नुन बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।

अहिले घरगाउँमै आयोडिनयुक्त नुुन उपलब्ध छ । सडकले बारेकोटका कुनकन्दरा जोडिएसँगै दैनिक उपभोग्य सामाग्री देखि विभिन्न निर्माण सामाग्री पनि सुपथ मुल्यमा घरआँगनमै पाइन थालेको छ । ‘पहिले हातमा पैसा भएपनि किनौंभने चामल पाइदैन्थ्यो । खाद्यको चामल पनि सिमित हुन्थ्यो’ बारेकोट–६ धुमाका जनकबहादुर महतारा विगत सम्झदै भन्छन् — ‘अहिले बारेकोटका सानोतिनो बजारमा समेत जतिपनि दाल चामल पाइन्छ, यो पनि सडक यातायातकै कारणले महसुस हुनेगरी भएको परिवर्तन हो ।’

बारेकोट गाउँपालिकामा सडक निर्माण कार्यले तीव्रता पाएसँगै स्थानीय बजारहरुमा चहलपहल बढ्न थालेको छ । बारेकोटका सेपुखोला, सक्ला, काउली, घाटबजार, लिम्सा, दह लगायतका मुुख्य ब्यापारिक केन्द्रहरु बिस्तारै बजारीकरणतर्फ बढेका छन् । अहिले सिमेन्ट, सरीया, इलेक्ट्रिकल तथा मेसिनरी सामाग्रीहरु सुपथ मुल्यमै गाउँघरका पसल दोकानमा पाउन सकिन्छ ।

जल, जंगल र जडिबुटीको प्रचुर सम्भावना बोकेको बारेकोट गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका जनताको सपना बदलिएको छ । केही दशक अघि साँझ विहानको छाक जोहो गर्न कालापार जानुपर्ने बाध्यताबाट गुज्रीएका बारेकोटीका सपनाहरु सडक पुगेसँगै सडकजस्तै फराकिलो बनेका छन् । बारेकोटी जनताहरु अहिले व्यावसायिक सोच राख्न थालेका छन् ।

बारेकोट ५, गैरागाउँका मानबहादुर सिंहलाई फर्निचरको कामकाज गर्न भ्याइनभ्याइ छ । उनको फर्निचर उद्योगबाट निर्माण भएका काठका सामाग्रीहरुको बारेकोटमा राम्रो माग बढेको छ । आफुसँग सीप र दक्षता हुने हो भने गाउँघरमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मानबहादुर । केही महिनाअघि काठ चिरन गर्ने मेसिन ल्याएका उनले आफ्नो फर्निचर उद्योग फस्टाउनुमा सडकको विकास नै भएको दाबी गर्छन् ।

सडकको विकाससँगै स–साना उद्योग व्यवसायहरुको पनि शुरुवात गरिएको छ । बारेकोट २ का गोपाल नेपालीले गाउँपालिकाको केन्द्र लिम्सामा बेकरी उद्योग शुरुवात गरेका छन् । उनको उद्योगमा पाउरोटी, केक, खास्ता लगायतका खाद्य सामाग्री उत्पादन हुन्छ । उनको उत्पादनले छोटो समयमै स्थानीय गाउँघरमा चित्तबुुझ्दो मुल्य पाएको गोपालले जानकारी दिए । हाल बारेकोट गाउँपालिकाका विभिन्न वडा तथा बस्ती जोड्ने ६० किलोमीटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भैसकेको इन्जिनियर महेश काफ्लेले बताए ।

ध्यापाटाकुरा देखि गाउँपालिकाको केन्द्र लिम्सासम्म १२ किलोमिटर सडक स्तरोन्नतीको कार्य भैरहेको छ । स्तरोन्नतीको जिम्मेवारी पाएको धुलीखेल जेके जेभी कम्पनीले २०७८ असार मसान्तसम्म यो सडकको स्तरोन्नती गरिसक्नुपर्ने इन्जिनियर काफ्लेको भनाई छ । जिल्लाकै महत्वको मानिने हानीसल्ला लिम्सा दह हुदै जुम्ला जोड्ने राजमार्ग अन्तर्गत हानीसल्ला देखि दहसम्मको ट्रयाक खन्ने कार्य समेत पूरा भैसकेको छ ।

त्यसैगरी लिम्सा मुल्साम हुदै जुम्ला जोड्ने राजमार्ग निर्माणाधीन चरणमा रहेको छ । कतिपय ठाउँमा निकै कडा चट्टान, कतिपय ठाउँमा कमजोर भुबनोट र ठुलासाना खोला धेरै संख्यामा रहेको कारण सडक निर्माण कार्यमा कठिनाई भोग्नु परेको इन्जिनियर काफ्लेले बताए । यहाँको भूबनोटले गर्दा सडक निर्माणका योजनाहरु महँगो हुने गरेको इन्जिनियर काफ्लेको अनुभव छ ।

सम्पुर्ण विकासको मेरुदण्ड सडक भएकोले सडक निर्माण कार्यलाई तिब्रता दिईएको उपाध्यक्ष ओमा शाही बताउँछिन् । बारेकोटमा उत्पादन नहुने चिजबस्तु आयात गर्न र उत्पादन भएको चिजबस्तु निर्यात गर्न सहज हुन थालेको उपाध्यक्ष शाहीले बताईन् ।

सडकले छुन बाँकी वडा नम्बर ३ मा यसै आर्थिक वर्षभित्र पालिकास्तरीय सडक सञ्जालले जोडिसक्ने अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । कुनै समय जिल्लाकै विकट क्षेत्रको पहिचान भएको बारेकोटी जनताहरुको घर आँगनमै मोटर गाडी चढ्ने सपना पूरा भएको अध्यक्ष शाहको भनाई छ ।

जनताले महसुस हुने गरी विकास गर्न प्रतिबद्ध रहेको बताउँदै स्थानीय सरकारसँग जनताको अधिकतम अपेक्षा भएपनि सिमीत साधन र स्रोतका बावजुद पनि बारेकोटको बहुपक्षीय विकासका लागि बारेकोट सरकार अहोरात्र खटेको अध्यक्ष शाह बताउँछन् ।

तपाईको प्रतिक्रिया