
जाजरकोट, २१ माघ । भेरी नगरपालिका ५ काफलचौरमा रहेको वहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुको समस्या तत्काल समाधान गर्न यहाँका युवाहरुले नगरपालिकाको ध्यानाआर्कषण गरेका छन् ।
भवन लगाएतका पुर्वाधारको अभावमा काफलचौर स्थित शिक्षालयका विद्यार्थीहरुले कष्टपुर्ण र अव्यवस्थित वातावरणमा पढ्नु परेको भन्दै परिवर्तनका लागि युवा समुह अभियानमा आवद्ध युवाहरुले सोमवार भेरी नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
शिक्षालयमा भवन अभावमा खुल्ला चौर पढाइ भइरहेको, चर्पीको अभाव रहेको, शिक्षक र विद्यार्थीहरुका लागि आवास गृहको व्यवस्था नभएको, खानेपानीको अभाव रहेको ,फर्निचर नभएको र समग्रमा शिक्षालयमा आधारभुत आवश्यकताहरुको न्युनतम परिपुर्तिका लागि पनि जिम्मेवार पहल नभएको भन्दै उनीहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
परिवर्तनका लागि युवा अभियानमा आवद्ध अनिशकुमार कार्की, विजया खत्री, प्रनिल चन्द, सन्जीव श्रेष्ठ र प्रेम खड्का लगाएतका युवाहरुको टोलीले शिक्षालयको समस्या तत्काल समाधान गर्न आग्रह गर्दे भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीलाई ध्यानाकर्षण पत्र वुझाएको हो ।
वहुप्राविधिक शिक्षालय काफलचौरमा पढिरहेका विद्यार्थीहरुले भोगिरहेका समस्याहरुले जिल्ला र नगरकै प्रतिष्ठामा प्रश्न उठाएकोले आफुहरुले समस्या समाधानको पहल लिन नगरपालिकाको ध्यानाकर्षण गराएको अभियानका अगुवा अनिशकुमार कार्कीले वताए ।
न्युनतम पुर्वाधारको पनि व्यवस्था नभएर शिक्षक तथा विद्यार्थीहरुले अव्यवस्थित र कष्टपुर्ण अवस्थामा पठनपाठन गरिरेहको विषयमा गम्भीर भइदिन नगर सरकारलाई अनुरोध गरेको पनि वताए । यस्तै अभियानकी अर्की अगुवा विजया खत्रीले नगर सरकारले नै स्थापनाको पहल गरेको शिक्षालयको अवस्था दयनीय हुनु र शिक्षक विद्यार्थीका आधारभुत आवश्यकता पुर्तिको पहल नहुनु दुःखद कुरा भएको वताइन् । सम्वन्धित निकायले समयमै त्यहाँको समस्या समाधानको पहल नगरे आफुहरुले आन्दोलन समेत गर्ने तयारी गरेको वताइन् ।
युवाहरुले नगरप्रमुखलाई सम्वोधन गरेर वुझाएको उक्त ध्यानाकर्षणपत्रको वोधार्थ प्रमुख जिल्ला अधिकारी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका कार्यकारी निर्देशक, भेरी नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र भेरी नगरको ५ वडाका वडाध्यक्षलाई समेत दिइएको युवाहरुले वताएका छन् ।
परिवर्तनका लागि युवा अभियानमा आवद्ध युवाहरुको ध्यानाकर्षण पत्र वुझ्दै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले युवाहरुले उठाएका जायज माग र विषयलाई नगरपालिकाले उचित रुपमा सम्वोधनको पहल गर्ने वताए ।
उनले भौगोलिक अवस्था र अन्य कारणले सृजना भएका समस्या हल गरेर काफलचौरको वहुप्राविधिक शिक्षालयको शैक्षिक तथा प्राविधिक व्यवस्थाप तर्फ आफुहरुले पहल गर्ने वताए ।


















































। २१ माघ २०७७, बुधबार