बेलायतमा एकै दिन एक हजार आठ सय २० जना कोभिड संक्रमितको मृत्यु

बेलायतमा एकै दिन एक हजार आठ सय २० जना कोभिड संक्रमितको मृत्यु भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार बुधबार मात्रै बेलायतमा भाइरसका कारण यति धेरै नागरिकको ज्यान गएको हो ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले कोरोना भाइरसको संक्रमण सुरु भएदेखि अहिलेसम्ममा यति धेरैजनाको एकै दिनमा ज्यान गएको यो पहिलोपटक भएको जनाएका छन् । उनीहरूको जानकारीअनुसार बुधबारसम्ममा यहाँ ९३ हजार दुई सय ९० जनाको कोरोना भाइरसबाट निधन भइसकेको छ । उनीहरूले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।

बेलायतबाटै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका ६० भन्दा बढी देशमा पुगेको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० वटा देशमा पुगेको हो ।

संगठनले महामारीको यो स्वरूप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ । यसैगरी बेलायतमा बुधबार पनि ३८ हजार नौ सय पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बेलायतमा कोभिड– १९ का संक्रमितको संख्या पनि निकै बढेको छ ।

तपाईको प्रतिक्रिया