पुल बनेपछि आवतजावतमा सहज, दुई गाउँविच भाईचाराको सम्बन्ध

जाजरकोट, २७ पुस । जिल्लाको नलगाड नगरपालिका ८ मैदे र पश्चिम रुकुमको आठविसकोट नगरपालिका ७, सिमतरा विचको भेरी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । भेरी नदीमा उक्त पुल निर्माण भएपछि दुई गाउँका बासिन्दाको डोरीले नदी तर्ने जोखिम पनि टरेको हो । पुल निर्माणले जाजरकोटको मैदे र रुकुमको सिमतरा गाउँ विचको सम्बन्ध नजिक बन्न पुगेको छ । उनीहरु विच भौगोलिक दुरीले मात्र होइन । भाईचारा र छिमेकको सम्बन्ध नजिकिएको छ । स्थानीय बासिन्दाको पौडी खेलेर तथा डोरीबाट नदी वारपार गर्नुपर्ने वाध्यता पनि हटेको छ ।

पुल निर्माणले दुई गाउँका बासिन्दालाई छिटो छरीतो आवजावतमा सहज भएको नलगाड ८ मैदेका प्रेमबहादुर गिरीले बताए । ‘पहिले जोखिम थियो अहिले सहज भएको हो छ गिरीले भने ।’ दैनिक उपभोग्य बस्तुको किनवेच गर्न, घट्ट पिस्न, औषधी उपचार गर्न, विद्यार्थीलाई विद्यालय पठनपाठन गर्न जान लगाएत कार्यमा सहज भएको गणेश प्राथामिक विद्यालय मालुवाका शिक्षक कमल बोहोराले जानकारी दिए । भेरी नदीको मैदे सिमतरामा पुल नहु“दा पहिले देखि नै स्थानीयबासिन्दा जोखिम मोलेर नदी वारपार गर्न वाध्य थिए ।

कतिपयले पौडी खेलेर थप जोखिमपुर्ण तवरले नदी पार गर्न वाध्य हुन्थ्ये । पुल निर्माण पछि स्थानीय बासिन्दालाई चार घण्टा पैदल हिडेर राडी र कायाखेत स्थित पुलबाट आवतजावत गर्नु वाध्यताको अन्त्य भएको आठविसकोट नगरपालिका ७, सिमतराका बिर्खबहादुर मल्लको भनाई छ । स्थानीय बासिन्दालाई १० मिनेटमै मैदे र सिमतरा गाउँ आउतजावत गर्न सहज भएको मल्लको भनाई छ ।
भेरीमा पुल निर्माण भएपछि ३÷४ घण्टा टाढाको बाटो पुगेर घर फर्कनु पर्ने दुःख हटेकोे छ । पुल निर्माणले विगतका दुःखलाई विर्साएको नलगाड ८ का वडा अध्यक्ष गोविन्द शाहीले बताए । पुल निर्माण पछि जाजरकोटका मैदे, मालुवा, ताँत्रघरङगा, बाँसकोट, मंसिरी, लुपाना, नेटा र रुकुमका सिमतरा, दाँजे, औलीगाउँ, चुर्तीपाखा, ढुंगील लगाएत गाउँका अधिकांश बासिन्दा लाभान्वित भएका छन् । डोलिडार आयोजनाको झोलुंङ्गे पुल कार्यक्रमबाट पुल निर्माण भएको हो । १ सय ७५ मिटर लम्बाईको उक्त पुल ९५ लाख लागतमा निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया