जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ९६ बालबालिका विद्यालय बाहिर रहेको पाईएको छ । विभिन्न समस्याका कारण विद्यालय शिक्षा भन्दा बाहिर रहेको एक अध्ययनले देखाएको छ । कुशे गाउँपालिकामा सञ्चालित सहयात्रा र अवसर परियोजनाले गरेको सर्वेक्षणमा कुशे गाउँपालिका भित्रका ९६ बालबालिका विद्यालय शिक्षा बाहिर रहेको पाईएको हो ।
गाउँपालिका भित्र रहेका ५२ वटा बिद्यालय र ६६ वटा वालविकास केन्द्र भन्दा बाहिर ९६ जना बाल बालिका रहेको परियोजना व्यवस्थापक भीमबहादुर केसीले जानकारी दिए । जसअन्तर्गत ४७ बालक र ४९ बालिका रहेका छन् । बिद्यालय भन्दा बाहिर रहेका ९६ जना बालबालिकाहरु मध्ये ५४ जनालाई परियोजनाले बिद्यालयमा भर्ना गरेको परियोजना व्यवस्थाक केसीको भनाई छ ।
विद्यालय शिक्षा भन्दा बाहिर बाल बालिका रहनुको मुख्य कारण शारीरिक अपाङ्गता, गरिबी, घरदेखि विद्यालय धेरै टाढा हुनु, बालबालिका आफै पढ्न नचाहनु, बसाईसँराई, बालबालिका तथा परिवारका अन्य सदस्यहरुको स्वास्थ्य समस्या, पाठ्यक्रम र भाषा कठिनाई हुनु, घरमा भाइबहिनी हेरेर बस्नुपर्ने वाध्यता, विद्यालयमा शिक्षकहरुबाट हिंसा हुनु र अरुको घरमा काम गर्नु पर्ने बाध्यताले विद्यालय बाहिर रहेको व्यवस्थाक केसीले बताए ।
घरमै पाठ्यपुस्तक र शिक्षक
जन्मजात अपाङ्ग, बिद्यालयको पहुँचमा पुग्न नसकेका बाल बालिकाहरुलाई घरमै शिक्षा दिनका लागि परियोजनाले घरमै विद्यालय कार्यक्रम संचालन गरेको छ । जन्मजात खुट्टा लुलो भएर हिड्डुल गर्न नसक्ने कुशे गाउँपालिका–९ हिलाखानी मेलबिसाउनका १३ बर्षिय शिवराज गिरीलाई शिक्षा दिन परियोजनाको सहयोगमा विना गिरीले गत एक बर्षदेखि घरमै पढाई रहेकी छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दैनिक विनाले पढाउन थालेपछि शिवराज आजभोली किताबहरु पढ्न सक्ने भएका छन् ।
अंग्रेजी आफ्नो नाम लेख्न समेत सक्ने गरेका छन । विभिन्न शैक्षिक सामाग्री प्रयोग गरेर जोड, घटाउ, गुणान र भाग जस्ता हिसाब गर्न थालेका छन् । शिवराजलाई आधारभुत शिक्षा दिलाउन परियोजनाले ५ बर्षसम्म घरमै विद्यालय कार्यक्रम संचालन गर्ने पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका कार्यकारी निर्देशक कार्कीले बताए ।
शरीर घिंसारेर शौचलय सम्म पुग्ने र घरको कोठामा फर्किने गरेका शिवराजले आफुलाई कसैले सहयोग गरेमा उच्च शिक्षासम्मको पढाई पुरा गर्ने सोच बनाएको बताएका छन । परियोजनाले शिवराज जस्तै कुशे–३ दतिउरका रमेश परियार, कुशे–६ भार्माका बिनिता मल्ल, कुशे–८ लाँताका भुपेन्द्र बस्नेतलाई आधारभुत शिक्षा दिलाउन घरमै बिद्यालय कार्यक्रम संचालन गरेको कार्यकारी निर्देशक कार्कीले बताए ।
कार्कीले दिएको जानकारी अनुसार, परियोजनाको सहयोगमा रमेश परियारलाई प्रतिभा भण्डारीले, बिनिता मल्ललाई विनिता नेपालीले र भुपेन्द्र बस्नेतलाई चन्द्र सिंहले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दैनिक पढाउने गरेका छन । कुशे गाँउपालिकाको ९ वटै वडामा गृह शिक्षक अबधारणा संचालन गरिएको छ ।
गृह शिक्षक अबधारणामा परियोजनाले विश्वव्यापी कोभिड–१९ को प्रभावित समयमा अभिभावकहरुद्धारा आफ्ना बाल बालिकाहरुलाई घरमै अध्यापन गराउने गरिएको छ । पालिकाका प्रत्येक वडामा नमुनाका रुपमा गृह शिक्षक अबधारणा संचालन गरिएको कार्यकारी निर्देशक कार्कीको भनाई छ । गृह शिक्षक अबधारणबाट लाभाम्बित ६ सय ११ जना बालबालिकाहरु मध्ये ३ सय २४ जना बालिका र २ सय ८७ जना बालक रहेको कार्कीले बताए ।
पढ्दै कमाई गर्दै बालबालिका
बाल बालिकालाई केन्द्रमा राखेर कार्यक्रम संचालन गरिरहेका परियोजनाले बाल बचाउँ, बाल संरक्षण, बाल विकास र बाल सहभागीताका लागि विपन्न अभिभावकहरुको आर्थिक अबस्था सुधार गर्न आय आर्जन कार्यक्रम संचालन गरेको छ ।
जसअन्तर्गत बाख्रा पालन, कुखुरा पालन, खुद्रा पसल र होटल तथा नास्ता पसल संचालनमा रहेका छन् । परियोजनाले कशे–१ की विनिता दमाई, कशे–२ की जैसरा कामी, कशे–३ का रमेश परियार , कशे–४ का मोहन नेपाली, कशे–५ का टेकबहादुर थापा, कशे–६ का रविन्द्र तिरुवा र कशे–९ का शिवराज गिरीलाई बाख्रा पालन व्यवसायमा सहयोग गरेको कार्यकारी निर्देशक कार्कीले जानकारी दिए ।
त्यसैगरी परियोजनाको सहयोगमा कुशे–५ ढिमेका जनक मल्लले होटल तथा नास्ता पसल संचालन गरेका छन भने, देवि मल्लले खुद्रा पसल संचालन गरेकी छन् । कुशे–५ जरगाउँकी निर्मला शाहीले खुद्रा पसल संचालन गरेकी छन । आयआर्जनको लागि संचालन गरिएको व्यवसायबाट भएको नाफाको १५ प्रतिशत बाल बालिकाहरुमै खर्च गर्ने गरेको अभिभावकहरुले बताउदै आएका छन् ।
बालबालिका मैत्री भवन निर्माणको अवधारण
बालबालिकाहरुको अध्ययन तथा कक्षा कोठा र बसाई व्यवस्थापनलाई व्यवस्थित गर्न परियोजनाले विद्यालय भवन निर्माण तथा मर्मत, खानेपानी धारा, शौचालय निर्माण तथा मर्मतका कामहरु गर्दै आएको छ ।
पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका प्राविधिक रत्न डाङ्गीले दिएको जानकारी अनुसार पहाडी क्षेत्र विकास अभियानको १२ लाख ६७ हजार ४ सय ९७, गाउँपालिकाको ५ लाख र २ लाख ५० हजार श्रमदान गरी जम्मा २० लाख १७ हजार ४ सय ९७ रुपैया लागतमा कुशे–५ जरगाउँ स्थित कालिका प्राथमिक विद्यालय र १९ लाख ९८ हजार ५ सय ८९ रुपैया लागतमा कुशे–१ गोया स्थित जनप्रिय प्राथमिक विद्यालयमा नमुना बाल विकास केन्द्रका भवन निर्माण गरिएको छ । निर्माण गरिएका सबै भवन बालबालिका मैत्री रहेका छन ।
















































। १५ मंसिर २०७७, सोमबार