बारेकोटको घाटबजारमा पहिलो पटक गाडी पुग्यो, स्थानीयले फुलमाला लगाएर गरे स्वागत

जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको घाटबजारमा पहिलो पटक गाडी पुगेको छ । गाउँपालिकाको वडा नं. २,३,४ र ५ को व्यापारिक केन्द्रको रुपमा रहेको घाट बजारमा पहिलो पटक गाडी पुगेको हो ।

घाटबजारमा पहिलो पटक पुगेको कुशेमालिका यातायात प्रा.लीद्धारा सञ्चालित भे १ ज ५८१ नम्बरको गाडी तथा चालकलाई स्थानीयहरुले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए । जिल्लाको सबैभन्दा विकट स्थानीय तहको रुपमा रहेको बारेकोटका विभिन्न ठाउँमा पछिल्लो समयमा यातायातको पहुँच पुगेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

जिल्ला सदरमुकाम खलंगाबाट कालिमाटी, सिर्के, सक्ला, लिम्सा हुँदै घाट बजारसम्म नियमित यातायात सेवा सुचारूका लागि आवश्यक प्रकिया र समन्वय भईरहेको अध्यक्ष शाहले बताए । घाटबजार सम्म यातायातको सेवा पुगेपछि स्थानीय खुसी भएका छन ।

सुचारु भएको यातायात सेवा निरन्तर सञ्चालन गर्नका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने स्थानिय बुद्धिजिवि गोरखबहादुर सिंहले बताए ।

तपाईको प्रतिक्रिया