कर्मचारी संगठन जाजरकाेटकाे अध्यक्षमा यज्ञवहादुर अधिकारी

जाजरकोट । नेपाल निजामती कर्मचारी संगठन जाजरकोटको अध्यक्षमा यज्ञवहादुर अधिकारी मनोनित भएका छन । संगठनको आज बसेको जिल्ला कार्य समितिको बैठकले अधिकारीलाई अध्यक्षमा मनोनित गरेको हो ।

संगठनका अध्यक्ष डम्बर बहादुर विष्ट सरुवा भई जिल्ला बाहिर गएकोले अध्यक्ष पद रिक्त रहेको थियो । बैठकले रिक्त रहेको संगठनको उपाध्यक्षमा तिलक बहादुर राना, सहसचिवमा बालाराम न्यौपाने, कोषाध्यक्षमा छवि खनाललाई मनोनित गरेको छ भने रिक्त सदस्य पदमा टोप बहादुर नेपाली, तिलक भट्टराई र अमृता चन्दलाई मनोनयन गरेको छ ।

बैठकले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जाजरकोटको रिक्त रहेको सचिव पदमा खडक के.सी र कोषाध्यक्षमा गोपाल शाहीलाई मनोनयनका लागि सिफारिस गरेको संगठनका निवर्तमान अध्यक्ष डम्बर बहादुर विष्टले जानकारी दिए । संगठनमा रहेका कर्मचारीहरु सरुवा भई अन्यत्र गएकोले रिक्त रहेका पदहरुमा मनोनयन गरिएको विष्टको भनाई छ । ट्रेड यूनियनको निर्वाचन नजिकिएकोले कर्मचारीहरु संगठन विस्तारमा लागेका छन । साविकका नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भई अन्य जनवर्गीय संगठनहरुको एकता प्रक्रिया टुङ्गिएको भएपनि कर्मचारीहरुको एकता भएको छैन । एकता प्रक्रिया नटुङ्गिएकोले एमाले निकट कर्मचारी संगठन र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले छुट्टाछुट्टै निर्वाचनको तयारी गरिरहेका छन । यद्यपि यसै कारणले सरकारले यहि २४/२५ गते तोकिएको ट्रेड यूनियनको निर्वाचन स्थगित गरेको अनुमान गरिएको छ । यस अघिको ट्रेड यूनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठनले भारी मतका साथ पहिलो स्थान प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया