भगवान बनाउने लेखबहादुर !

कालीबहादुर नेपाली
जाजरकोट  । जिल्लाको बारेकोट गाउँपालिका–२, अयर्नाका लेखबहादुर नेपालीलाई लाई मूर्तिकला सम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरु बनाउनका लागि लेखबहादुर संग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर, उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन ।

आफ्नो अघि कुनै देवीदेवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने लेखबहादुरको कलाले गाउँपालिका मात्र होइन, अन्य अन्य पालिकामा पनि सबैलाई मोहित पारेको छ । सानैदेखि चित्रकला र मूर्तिकलामा निकै रुची भएका उनी अहिले अब्बल मूर्तिकारको रुपमा परिचित हुँदै गएका छन् ।

जाजरकोट जिल्ला मात्र नभई विभिन्न जिल्लामा र आफ्नै घरको आँगनमा उनले बनाएका मूर्ति हेर्नेको पनि घुइँचो लाग्ने गरेको छ । उनले देवीदेवताका साथै जनावर, मान्छेका मूर्ति पनि आकर्षक र दुरुस्त बनाउने गर्छन् । ३० वर्षीय लेखबहादुर कुनै साधन र सैद्धान्तिक ज्ञान बिना नै मूर्ति बनाउँछन् । उनले भारतको सिम्लामा भारी बोकेर कमाएको २० हजार रुपैयाँबाट मूर्ति बनाउने कामको सुरु गरेका थिए ।

पहिला–पहिला कसैले अर्डर गरेमात्र मूर्ति बनाउने गरेका उनलार्ई अहिले मूर्ति बनाउनका लागि जुम्ला,डोल्पा र जाजरकोटका विभिन्न ठाउँहरुमा बोलाउने गरिन्छ । ‘आफ्नै मेहनतले सिम्लामा भारी बोकेको पैसा २० हजारबाट यो व्यवसाय गर्न लागें,’ उनले भने, ‘अहिलेसम्म कसैको सहयोग पाएकै छैन, कतैबाट सहयोग पाएँ भने व्यावसायिक रुपमै मूर्ति निर्माण उद्योग सुरु गर्ने इच्छा छ ।’ उनले ३ वर्षअघि पहिलोपटक गाउँपालिकाको वडा न. ६ कार्कीगाउँमा शिव र कृष्ण भग्वानको मूर्ति बनाएका थिए ।

उनले अहिले गाउँपालिका भित्रका सबै वडामा आफ्नो कला प्रस्तुत गरिसकेका छन । उनको सीपको चारैतिर चर्चा उत्तिकै छ । तर व्यवसायीक रुपमा भने लगानी गर्न सकेका छैन । घरेलु श्रोत–साधनको प्रयोग गर्दै निकै सस्तोमा मूर्ति बनाउने उनी राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई दुनियाँको अघि फैलाउने र बेरोजगारी भएर विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न निःशुल्क सिप सिकाउने धोको रहेको बताउँछन् ।

घरको निम्न आर्थिक अवस्थाका कारण ५ कक्षामै पढाइ छाडेका उनी एउटा मूर्ति बनाउन आकार हेरी १० देखि ५० दिन लगाउँछन् । मिहिनेत साथ बनाएको मूर्तिको उनी १५ हजार देखि एक लाखसम्म पारिश्रमिक लिन्छन् । ‘आप्mनो दुःख हेर्ने हो भने त यो केही पनि होइन,’ उनले भने, ‘तैपनि जीवन धान्नको लागि पैसा लिने गरेको छु ।’

लेखबहादुलाई सरकारले उचित अवसर दिएर सहयोग गर्नुपर्ने स्थानीयको भनाइ छ । बारेकोट गाउँपालिका २ का भीमबहादुर नेपालीले भने, राम्रो अवसर पाए यिनमा चमत्कारिक कला देखाउन सक्ने सम्भावना रहेको छ ।

‘सरकारले विभिन्न युवालक्षित कार्यक्रम त ल्याउँछ, तर वास्तविक उद्यम गर्ने युवा सम्म पुग्ने गरेको छैन,’ उनले भने, ‘लेखबहादुर जस्ता थुप्रै युवाहरु छन, तिनीहरु सहयोग नै नपाएर बाहिर आउन सकेका छैनन् ।’

तपाईको प्रतिक्रिया