रंगशाला निर्माणमा आर्थिक अभाब, उधारो नै ४ करोड नाघ्यो

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण स्थलमा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल । फोटो : धुर्मुस सुन्तली फाउन्डेसन
चितवन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा हुँदै आएको छ ।

कोरोना भाईरसको महामारीले लागू गरिएको लकडाउनले झण्डै एक महिना काम बन्द रहेपनि बैशाख २० गतेबाट सुरक्षा शतर्कता अपनाएर निर्माण कार्य सुरु गरिएको छ ।

हाल रंगशालामा मुख्य मैदानको ८५ प्रतिशत काम सकिएको छ । यस्तै, ३० हजार दर्शक क्षमता रहने रंगशालाको प्यारापिट निर्माणका लागि पिल्लर ढलान काम हुँदै आएको छ ।

मैदानको पश्चिमतर्फ रहेको स्ट्याण्ड ए र बीमा हाल पिल्लर उठाउने काम हुँदै आएको छ ।

काम तिब्र गतिमा हुँदै आएपनि फाउन्डेसनमा आर्थिक अभाव देखिएको छ । झण्डै ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको रंगशालामा हालसम्म मात्र १७ करोड २२ लाख ३ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ ।

निर्माण कार्य सुरु गर्नु अघि फाउन्डेसनको आन्तरिक कोषमा २ करोड १४ लाख ७ हजार ५ सय ३९ रुपैयाँ रहेको थियो ।

रंगशाला निर्माणमा आर्थिक पाटो सम्हाल्दै आएका मुक्ति तिमल्सिनाले संकलन भएको भन्दा बढी पैसा रंगशाला निर्माणमा खर्च भएको बताए । हालसम्म २१ करोड ४४ लाख ५ हजार १ सय ५१ रुपैयाँ खर्च भएको छ ।

आर्थिक अभाबका कारण फाउन्डेसनको उधारो मात्र ४ करोड २२ लाख १ हजार २ सय ४९ रुपैयाँ भइसकेको छ ।

फाउन्डेसनले निर्माण घोषणा गर्दा दाताबाट सहयोग रकम संकलन गरेर रंगशाला बनाउने लक्ष्य लिएको थियो ।

यस्तै, आर्थिक सहयोग जुटाउन फाउन्डेसनले रंगशाला प्रांगणमा धान्यांचल महायज्ञ लगाएको थियो । जसबाट झन्डै ७० करोड रकम दाताहरुले सहयोग गर्ने घोषणा गरेका थिए ।

जसमा घोषणा गरिएको रकम मध्य असार मसान्तसम्म ७ करोड ८९ लाख ५८ हजार १ सय रुपैयाँ उठेको छ भने अझै ६१ करोड उठ्न बाँकी छ ।

सहयोगका लागि कबुल गरिएको रकम समयमा नपाउँदा रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ । फाउन्डेसनले आर्थिक सहयोग बाहेक जिन्सी सहयोग समेत पाउँदै आएको छ । रंगशाला निर्माणका लागि ५२ लाख ७१ हजार बराबरको जिन्सी सहयोग प्राप्त भएको छ ।
आर्थिक ब्यवस्थापन सहज भएको अवस्थामा फाउन्डेसनले अबको १८ महिना भित्र रंगशाला पूर्ण रुपमा तयार गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया