दर्शनको छोटो चिनारी

१) दर्शनको परिभाषा – दर्शन जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो, प्रकृति र मानव समाजको भित्री आँखा हो। यही आँखाले हरेक वस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र सोहीअनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ। मार्क्सका शव्दमा हरेक सच्चा दर्शन आफ्नो समयको वौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो।

२. दर्शनको उत्पत्ति – ग्रीक भाषाको philos र Sophia (प्रेम र विवेक) बाट अंग्रेजीमा philosophy हुँदै दर्शन शव्दको उत्पत्ति भएको देखिन्छ। मानव दर्शन करिव पच्चीस सयदेखि तीन हजार वर्षअघि युनानबाट प्रारम्भ भएको मानिन्छ। दर्शन शव्दको प्रथम प्रयोगकर्ता गणितशास्त्री पाइथागोरस हुन्।

३) दर्शनको क्षेत्र – जीवन र जगतको अन्तरसम्वन्ध, पदार्थ र चेतनाको अन्तरसम्वन्ध, प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरुको अध्ययन नै दर्शनको क्षेत्र हो। प्रकृति र मानव समाज एवं चिन्तनका अभिनियमहरु, पदार्थ र चेतना विचको अन्तरसम्वन्धका क्षेत्रहरु र सत्य वावास्तविकताको ज्ञान एवं जीवन र जगतको विकास वा परिवर्तनका नियमहरुको समग्र पक्ष नै दर्शनको क्षेत्रभित्र पर्दछ।

४) दर्शनको भूमिका – मानिसलाई साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरु लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्वन्धको अध्ययन गर्न र समाजको वास्तविकता वोध गर्न दर्शनको महत्वपूर्ण भूमिका हुन्छ। सर्वहारा वर्गीय दर्शनले संसारलाई बुझ्न, व्याख्या र बदल्न सम्भव तुल्याउँछ।

५) दर्शनका मौलिक प्रश्न – चिन्तन र सत्ताको सम्वन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो। पदार्थ र चेतनामध्ये कुन प्राथमिक हो बहस नै दर्शनको मूख्य प्रश्न हो। जीवन र जगत वोधगम्य छ कि छैन भन्ने प्रश्न दर्शनको दोस्रो महत्वपूर्ण प्रश्न हो। आदर्शवादले विश्व अज्ञेय भएको निष्कर्ष निकाल्छ भने भौतिकवादले विश्व वोधगम्य भएको निष्कर्ष निकाल्छ। पदार्थ र चेतनाको प्राथमिकतामा रहेको बहस र जगतको वोधगम्यताबारे विवाद नै दर्शनका मुल प्रश्न हुन्।

६) दार्शनिक सिद्धान्तहरु – दर्शनमा आदर्शवादी र भौतिकवादी गरी २ सिद्धान्त रहेका छन्। यी २ सिद्धान्तका बीचमा हुने बहसले नै दर्शन र मानव समाजलाई २ वर्गमा वर्गीकृत गर्दछ। आजसम्मको मानव समाजको सम्पूर्ण इतिहास २ दृष्टिकोण बीचकै बहस र सङ्घर्षको उपज हो।

७) आदर्शवाद र भौतिकवादमा अन्तर – आदर्शवादले चेतना पहिलो वा प्राथमिक, चेतनाले स्वयं अस्तित्व निर्धारण गर्ने मान्यता राख्दछ। यसले संसार अज्ञेय ठान्दछ। ईश्वर सर्वशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापी भएको मान्दछ। आदर्शवादका दृष्टिमा ज्ञान ईश्वरबाट प्राप्त हुन्छ। आदर्शवादले मानव संसार ईश्वरको रचना हो, आत्मा अमर रहन्छ, जीवनको पूर्व जन्म र पुनर्जन्म हुन्छ, धर्मशास्त्रमा लेखिएका कुराहरु सत्य हुन् भन्ने ठान्दछ। यो प्रतिक्रियावादी वर्गको वर्गहितको रक्षा गर्ने दर्शन हो।

८) दर्शन कहाँबाट जन्मिन्छ – माओत्सेतुङका अनुसार दर्शन सामाजिक व्यवहारबाट जन्मिन्छ। मानिसले जीवनयापनका क्रममा प्रकृतिसँग सङ्घर्ष गर्दछ, मानव जीवनमा उत्पादनका निम्ति गरिने सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगका क्रममा नै ज्ञानको विकास हुन्छ। ज्ञानको आधुनिक र उच्चतम् रुप नै दर्शन हो। हाम्रा सम्पूर्ण आर्थिक सामाजिक गतिविधिहरुको संश्लेषण नै दर्शन हो।

(लेखक सिंह वीरेन्द्र ऐश्वर्य मावि लिम्सा जाजरकोटका प्राचार्य हुन)  लालअावाज बाट साभार गरिएकाे ।

तपाईको प्रतिक्रिया