कोरोना भाइरस र साधारण रुघाखोकी कसरी छुट्याउने ?

काठमाडौं  । कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण तथा साधारण रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले कस्तो अवस्थामा अस्पताल जाने भन्ने कुराले सर्वसाधारणलाई अन्योलमा पारेको छ ।

केही सातायता देशका विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोनाभाइरस सङ्क्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ ।

तर घरबाहिर ननिस्केका तथा कोभिड–१९ पुष्टि भएको वा सम्भावित सङ्क्रमितको संसर्गमा नआएका व्यक्तिमा रुघा वा खोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै उपचार गर्न सकिने विज्ञहरूले बताएका छन् ।

अहिले सबै प्रदेशमा कोरोनाभाइरस पुगेको पुष्टि भइसकेको छ ।

बाँके, पर्सा, उदयपुर, कपिलवस्तु, झापा र रौतहट जिल्लमा बढी प्रभावित भएका छन् ।

तर मौसम परिवर्तन भइरहेको अवस्थामा साधारण रुघाखोकीको समस्या पनि सर्वसाधारणले भोगिरहेका छन् ।

कोभिड–१९ सँग केही समान लक्षण भएकाले सर्वसाधारणहरू रुघाखोकी लाग्दा पनि त्रसित हुने गरेका छन् ।

कोरोनाभाइरस सङ्क्रमणका लक्षणका बारेमा बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले भने, ‘कोभिड–१९ मा मुख्यतया सुक्खा खोकी लाग्छ ।’

‘सुक्खा खोकी लागेको पाँच दिनजतिमा निमोनिया हुनसक्छ । त्यसपछि केही व्यक्तिहरुलाई साह्रो हुनसक्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ ।’

अन्य व्यक्तिमा साधारण लक्षण पनि नदेखिने उनले बताए ।

छालामा समस्या आउने तथा गन्ध थाहा नपाउने पनि कोभिड–१९ का लक्षण भएको डा. बाँस्तोला बताउँछन् ।

घरबाहिर ननिस्केका, कोरोनाभाइरस सङ्क्रमण फैलिएको स्थानबाट आएका मानिसको सम्पर्कमा नआएका, सङ्क्रमितको नजिक नगएका व्यक्तिमा रुघा वा खोकी लागेमा चिकित्सकको सल्लाहमा घरमै उपचार गर्न सकिने डा. बाँस्तोलाले बताए ।

तर सङ्क्रमण फैलिएको स्थानबाट आएका व्यक्ति, सङ्क्रमित व्यक्तिसँगको सम्पर्क तथा घरका सदस्य सङ्क्रमण फैलिएको स्थानमा गएर घर फर्केका छन् भने कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्ने उनी बताउँछन् ।

उनले भने, ‘अहिलेको परिस्थितिमा यदि रोगग्रस्त क्षेत्रका मानिसहरूसँग सम्पर्क भएको छ र लक्षण देखियो भने चिकित्सकको सल्लाह लिनु नै राम्रो हुन्छ ।’

‘अझ सास फेर्न गाह्रो हुने, उच्च ज्वरो आउने लक्षण छ भने त अस्पताल जानैपर्छ ।’

सुरुसुरुमा केही लक्षण देखिएको भए पनि अहिले कोभिड–१९ पुष्टि भएका अधिकांश व्यक्तिमा सामान्य लक्षण पनि नदेखिएकाले लक्षणका आधारमा बिरामीलाई दिइनुपर्ने औषधि दिनु नपरेको चिकित्सकहरू बताउँछन् ।

कोशी अस्पताल विराटनगरको कोभिड(१९ उपचार केन्द्रका चिकित्सक डा. दीपक सिग्देलले लक्षण नदेखिएका तर सङ्क्रमण देखिएका व्यक्तिलाई पनि आइसोलेशनमा राख्नैपर्ने बताए ।

उनले भने, ‘सङ्क्रमितलाई त आइसोलेशनमा राख्नैपर्छ । त्यो पनि विशेष आइसोलेशनमा । कोठामा राख्छौँ, बाहिर निस्कन दिँदैनौँ ।’

‘खानेकुरा खान दिने हो । बिरामीलाई अप्ठ्यारो पर्‍यो भने पीपीई लगाएर जाँच गर्न जाने हो । उहाँहरूलाई दिइएको खानेकुरा (बाँकी भए) र खान दिएका सामान जलाउनुपर्छ । सरफफाइमा विशेष ध्यान दिने हो ।’

घरमा कसैलाई रुघा लागे वा कोरोनाभाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण पाइए परिवारका अन्य व्यक्तिसँग भौतिक दूरी बढाउन चिकित्सकको सुझाव छ ।

आवश्यकताअनुसार मास्क लाउन, भरसक अलग भान्छाकोठा र शौचालय प्रयोग गर्न वा बिरामीलाई भौतिक दूरी कायम गरेर खाना दिने तथा छुट्टै कोठामा सुत्ने व्यवस्था गर्न मेची अस्पतालका चिकित्सक डा. पिताम्बर ठाकुरले सुझाव दिएका छन् ।

उनले भने, ‘यति कुरा घरमा गरे कोभिड–१९ पनि फैलिने सम्भावना कम हुन्छ ।’

तर रुघाखोकीसँगै सास फेर्न अप्ठ्यारो हुने र अन्य लक्षण देखिए तुरुन्त अस्पताल जान उनको सुझाव छ । (बिबिसी)

तपाईको प्रतिक्रिया