कोरोनाले सम्झाइदियो

सविता बुढा

मैले बिर्सेको थिएँ

स्वयम् आफैंलाई

आफ्नो घर अनि परिवारलाई

आफैं भित्रको मन र अनि आफ्नै माया

निर्जिव वस्तु सँगको प्रेमले

सजिव सुसज्जित मानसपटल

घोलिएको थियो बस् एक पाना कागजमा

यता फर्क्यो उता फर्क्यो

सपनीमा विपनीमा

बस् कागज

सुख सुविधाका रहरहरू

पुस्टिएर विष्फोटित मात्र हुन बाँकी थियो

आज सम्झाइदियो कोरोनाले

यी सबैभन्दा पनि माथि केही छ

जुन तिमी सानो मान्छौ

जसको तिमीले बेवास्ता गर्छौ

बिहानीको सिरेटोमै दौडिएँ

बेलुकाको मध्यरातसम्म

देशका कमीकमजोरी खोतल्दै

भागें यिनी भन्दा पर

विरानो ठाउँ जसलाई स्वर्ग मानिरहें

आफ्नो धरातल बिर्सिएर

यसलाई किल्चिएर डसेर छिया छिया पार्दै

चन्द्रमा र मंगल ग्रहका होडमा

मानवीय दायित्व दया माया धमिलिएर

आणविक शक्तिका लागि

प्रतिस्पर्धामा उत्रिएँ

आज सम्झाइदियो कोरोनाले

यी सबै भन्दा माथि केही छ

जुन तिमीले मूल्यहीन ठान्छौ

जसलाई तिमी घृणा गर्छौ र

सबेरी बिहानी परिवार सँग छ

मध्यरात पनि परिवार सँगै छ

जसको जहान साथमा छ

उसलाई चारकुना भित्र

आफूलाई बुझ्न

केलाउन

जीवन संगिनीका अहोरात्र खटिएका पलहरू

उनका ऊ सँग र उसका उनीसँग

बस्न खोजिएका आन्तरिक चाहनाहरू

बच्चा बच्चीका गुडियाभन्दा माथिको आवश्यकता

बूढा बा आमाको सपनाहरू

सबै सबै सम्झाइदियो कोरोनाले

जसलाई उसले केही पनि मानेन

जसको लागि समय दिनु ठीक ठानेन

ऊ हिँडेको थियो एक्लै

झोला बोकेर मुग्लानतिर

मुग्लान भित्रै पनि सानो र ठूलो

तौलिन अनवरत लागिरह्यो

बाहिरी देखावटी सुन्दरतामा रूमलिएर

आफ्नो घर नै त्यस्तो मुग्लान बनाइदियो

जुन अर्थहीन छ

जुन सम्पन्नता र सुविधा

जसले संसार किन्न सक्छ

यसले केही किन्न सक्दैन

जुन तिमीलाई आवश्यक छ

कोरोनाले सम्झाइदियो

आफ्नो घर अनि परिवारको माया

धेरै धेरै माथि छ

जुन तिमीले सोच्न सकेनौ

जसलाई तिमी बुझ्न सकेनौ

आज बाहिर शान्त छ

सफा छ

पृथ्वी हराभरा छ

मानिस सर्वश्रेष्ठ प्राणी हो

सोचिरह्यो

तर ऊ र उसले गरेका क्रियाकलापहरूले

निम्त्याएका विनाशहरू

देख्दा उसलाई त्यसो भन्नु मिल्दैन

मानिस जोड्न भन्दा तोड्न लागिरह्यो

ठूला ठूला धन राशीहरू

विभिन्न हात हतियारहरूका लागि

खर्चिंदै अत्यावश्यक आवश्यकताहरू बिर्सिरह्यो

उसले सोचेन

प्रकृतिको शक्ति, जैविक शक्ति

अनि स्वास्थ्य नै ठूलो धन

जसलाई उसले ठट्टा ठानिरह्यो

मानिस नै ठूलो कोरोना भनेर

जसले नष्ट गर्‍यो सबै कुराहरू

आफैंले आफैंलाई सकाउन तल्लिन थियो

आफूले खनेको भूमरीमा

तर कोरोनाले सम्झाइदियो

ऊ र उसका शक्तिको उचित परिचालनहरू

जुन उसले भुलिरह्यो

जसलाई उसले कुल्चिरह्यो र

तपाईको प्रतिक्रिया