गाउँमै मास्क बनाएर वितरण

दैलेख — कोरोना भाइरस संक्रमणको त्रासले बजारमा मास्क अभाव भएपछि गुराँस गाउँपालिकाले गाउँमै उत्पादन गरेर वितरण थालेको छ ।गाउँपालिकाले वडा नं. ३ को सेरीमा फलाटिन कपडाको मास्क बनाइरहेको छ । वडासचिव दलबहादुर बीसीका अनुसार उत्पादित मास्क वडावासीलाई निःशुल्क वितरण गरिएको छ ।
‘हामीले जनतालाई कोरोनाबाट कसरी जोगिने भनेर सचेत गराउनुका साथै हेल्थ डेस्क राखेर चेकजाँच पनि गरिरहेका छौं,’ उनले भने, ‘प्रत्येक घरका कम्तीमा एक जनालाई कोरोनाबो जानकारी दिएका छौं ।’

सुरुवाती चरणमा ३ हजार मास्क उत्पादन गरिएको गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष खेमराज वलीले मास्कमा समेत कालोबजारी भएको पाइएपछि वडा नं. ३ बाट आफै उत्पादन सुरु गरिएको बताए । ‘यो माक्स निकै स्तरीय र राम्रो छ,’ उनले भने, ‘हामीले प्रयोग गर्ने तरिका र स्वच्छताबारे पनि सिकाएका छौं ।’

गाउँकै सिलाइ–कटाइसम्बन्धी तालिमप्राप्त महिलालाई मास्क उत्पादनमा प्रयोग गरिएको उनले बताए ।बजारमा मास्क अभाव भइरहेको बेला पत्रकार सन्दीप विकले १ हजार मास्क उत्पादन गरेर बादी समुदायको बसोबास रहेको नमुना बस्तीका साथै जिल्लाका वृद्धवृद्धालाईवितरण गरेका छन् । ‘मैले आफ्नै पहलमा मास्क बनाएर वितरण गरिरहेको छु,’ उनले भने, ‘यस्तो बेला सबैले आफ्नो तर्फबाट सकेको गर्नुपर्छ ।’

सामाजिक सेवा केन्द्रले पनि मास्क उत्पादन थालेको छ । उत्पादित मास्क स्थानीय बासिन्दालाई निःशुल्क वितरण गरिएको केन्द्रका बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । उनका अनुसार ५ हजार मास्क उत्पादन गरी वितरण गर्ने योजना बनाइएको छ ।
जिल्ला अस्पतालमा पनि कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ वटा विशेष बेडको व्यवस्था गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निरन्जन पन्तले तीनवडा ‘हाइकेयर’ बेड र ८ वटा अन्य बेड तयारी अवस्थामा राखिएका छन् । यसका साथै आठबीसकोट नगरपालिका र गुराँस गाउँपालिकामा पनि हेल्थ डेस्क राखिएको उनले बताए । त्यस्तै, चामुन्डाबिन्द्रासैनी नगरपालिकाले नागरिकको घरदैलोमा पुगेर कोरोना भाइरसविरुद्ध जनचेतना अभियान सुरु गरेको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया