सडक निर्माणमा अवरोध

हुम्ला — कर्णाली करिडोरअन्तर्गतको सिमकोट–खार्पु सडक निर्माणका क्रममा विभेद गरिएको भन्दै स्थानीयले सिमकोट–स्याम्ने खण्डको निर्माणमा अवरोध गरेका छन् । सिमकोटस्थित खाद्यगाउँका बासिन्दाले सडक निर्माण गर्दा गाउँलाई नछोएको भन्दै निर्माणको काम रोकेका हुन् ।

गाउँलाई छोएर सडक निर्माण गर्न सकिने भए पनि आफूहरूको माग बेवास्ता गरेको भन्दै सिमकोट गाउपालिका–५ का ३ सय १३ घरधुरीले निर्माणको काममा अवरोध गरेका छन् । बिहीबार वडाध्यक्षसहित सडक निर्माणस्थल
ठ्यालेचौर पुगेर निर्माणको काम रोकेको स्थानीय सुशीला रोकायाले बताइन् ।

‘राजनीतिक पूर्वाग्रह राखी हाम्रो गाउँलाई सडक सञ्जालमा जोड्न खोजिएन,’ उनले भनिन्, ‘माग पूरा नभएसम्म सडक निर्माणको काम गर्न नदिने निर्णय भएको छ ।’ स्थानीयले निर्माणस्थलमा ढुंगाको बार बनाएर निर्माणको काम रोकेका उनले बताए । स्थानीय अगुवा डबल रावतले सडक निर्माणको क्रममा आफूहरूमाथि बिभेद भएको गुनासो गरे ।

‘हामीले सडकलाई हाम्रो गाउँ भएर लैजान विभिन्न निकायमा यसअघि नै अनुरोध गरेका थियौं,’ उनले भने, ‘तर, आयोजना कार्यालयले मनोमानी ढंगले निर्माणलाई अघि बढायो ।’ गाउँबाट सडक निर्माण गर्दा सडकको दूरी छोटो हुने उनको दाबी छ । स्थानीयको जग्गामा क्षति पुर्‍याए पनि आयोजनाले घर अगाडिबाट सडक निर्माण गर्न कञ्जुस्याइ गरेको उनको आरोप छ ।

स्थानीयले सडक निर्माणस्थलमा बुँदागत मागसहित ब्यानर टाँसेका छन् । ‘हामीले क्षति व्यहोर्ने र फाइदा अरुले लिने देखियो,’ उनले भने ‘कि क्षति भएको जग्गाको मुआब्जा दिनुपर्‍यो, कि गाउँ छोएर सडक निर्माण हुनुपर्‍यो ।’ उनले गाउँमा सडक नहुँदा विकासको अनुभूति गर्न नसकिएको गुनासो गरे । हिल्सा–सिमकोट सडक आयोजना प्रमुख शशांक मिश्रले यसअघिको डीपीआर र डिजाइन स्टिमेटलाई आधार मानी निर्माणको काम भइरहेको उनको भनाइ छ ।

वडाध्यक्ष कृष्ण बोहराले स्थानीयको ९५ प्रतिशत जग्गा नोक्सान भए पनि सडकले गाउँ नछुनु बिभेद भएको बताए । ‘जग्गा पनि क्षति भयो, बाटो पनि अन्यत्रैबाट गयो,’ उनले भने, ‘वडाबासीको सुविधालाई ध्यान दिइ सडक निर्माण गर्न आग्रह गरिए पनि बेवास्ता भएपछि अवरोध गरिएको हो ।’ प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले स्थानीयलाई सहमतिमा ल्याउन छिट्टै सर्वपक्षीय वैठक आयोजना गरिने बताइन् । जग्गाको क्षतिपूर्तिका लागि संघीय सरकारसँग अनुरोध गरिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया