छुवाछूत अन्त्य गर्नेमा जनस्तरमा समस्या छैन, तर केही जनप्रतिनिधि र नेताबाट असहयोग गर्ने खालको धारणा आउँछ : प्रवक्ता पार्वती वि.क.

भेरी नगरपालिका जाजरकोटले आगामी जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त नगर घोषणा गर्ने तयारी थालेको छ । जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि भेरी नगरपालिकाले दर्जनौ सामाजिक अभियान्ताहरुलाई खटाइरहेको छ । भेरी नगरपालिका भित्रका सबै टोल वस्तीमा सामाजिक अभियान्ता लगायत सरोकारवालाहरु पुगिरहेका छन् । प्रस्तुत छ, यसै सेरोफेरामा नगरपालिकाका प्रवक्ता पार्वती वि.क. सँग लालआवाजले गरेको संक्षिप्त संवाद ।

पूर्ण जातीय छुवाछूत तथा भेदभावमुक्त नगरपालिका घोषणा अभियानमा जुटिरहेको कुरा गर्नु भयो, गैरदलितहरुबाट कस्तो प्रतिक्रिया आइरहेको छ ?

जनस्तरमा यसको राम्रै प्रतिक्रिया पाएका छौं । हामीले छुवाछूत र भेदभावमुक्त नगरपालिका घोषणाको कुरा गर्दै गर्दा मुख्यत गैरदलितहरुले उठाएको कुरा के छ भने दलितलाई दिदै आएको आरक्षण हटाउनु पर्छ भन्ने छ ।

सबै समान भनेपछि अब यो आरक्षण किन राख्ने ? भनेर वहाँहरुले जोडदार कुरा उठाउनु भएको छ । आरक्षण हटाउनु पर्छ भन्ने माग छ ।

आरक्षणमा के कुरा दलितले पाएका छन् ?

अब राज्यले आरक्षणको रुपमा अहिले दलितलाई ६० वर्षमा बृद्धभत्ता दिने गरेको छ । त्यस्तै दलित बालबालिकालाई शिक्षा क्षेत्रमा छात्रबृत्तिको व्यवस्था लगायत सेवासुविधा छन् । यो अभियानको अन्त्यमा पूर्ण जातीय छुवाछूत भेदभावमुक्त नगरपालिका घोषणा भयो भने हटाउनु पर्छ भन्ने गैरदलितको जोडदार माग हो ।

अभियान संचालन गर्दा सकारात्मक कुरा अर्को के छ भने धामी झाँक्रीसँग यो विषयमा अन्तरक्रिया भयो । वहाँहरुले पूर्ण रुपमा सहयोग गर्छौ भन्ने कुरा सहित अब हामीबाट छुवाछूत भेदभाव हुँदैन भन्ने प्रतिवद्धता राख्नु भयो ।

यो अभियान संचालन गर्दै गर्दा अन्य समस्या के आए ?

जनस्तरमा खासै समस्या छैन । अझै केही जनप्रतिनिधि र नेताबाट असहयोग गर्ने खालको धारणा आउँछ । तर पनि हामी जुटिरहेका छौं, एक दुई जनाको त्यस्तो धारणाले त्यति ठूलै प्रभाव पार्छ जस्तो लाग्दैन ।

यो विषय अलि प्रष्ट पार्दिनुहोस् न ?

म सबैलाई त भन्दिन । सबैमा त्यस्तो विचार र सोचपनि छैन । तर केही वडा अध्यक्ष, सांसद र राजनैतिक पार्टीका केही नेताहरुबाट बिस्तारै परिवर्तन गर्नुपर्छ अहिले नै किन हतार भन्ने जस्तो कुरा बोलेको पाइन्छ । यसले जनस्तरमा समस्या पैदा गर्छ । यसमा जिम्मेवार मान्छे गम्भिर बन्नुपर्छ भन्ने मेरो भनाइ छ ।

अब सार्वजनिक पदमा बसेका मान्छेहरुबाट यस्तो गम्भिर खालको धारणा आयो भने के गर्ने त वहाँहरुलाई ?

पहिलो कुरा त जनता भन्दा माथि चेतनास्तर भएको मान्छे हो वहाँहरु । लिडरसीप हो । वहाँहरुले ठिक र बेठिक के हो एकपटक गम्भिर भएर सोच्नु पर्छ । आफुले आफैलाई बदल्नु पर्छ । बनाएको कानूनलाई कार्यान्वयन गर्नुपर्छ । सार्वजनिक पदमा बसेका र कानून कार्यान्वयनको तहमा बसेका मान्छेले गरेनन् भने त त्यसको पनि कानूनी उपचार त छ नि ।

त्यो संविधानमै व्यवस्था गरेको छ । मलाई लाग्छ वहाँहरु अनविज्ञ हुनुहुन्न । मानवअधिकारको दृष्टिकोणले यो अपराध हो, कानूनी ढंगले यो दण्डनीय छ भन्ने कुरा स्थापित गर्ने र यो अनुसारको जनचेतना फैलाउन आवश्यक पनि छ ।

तपाइँहरुले पूर्ण जातीय छुवाछूत तथा भेदभावमुक्त नगरपालिका घोषणा अभियानसम्म मात्र कार्यक्रम चलाउने हो कि घोषणापछि पनि केही कार्यक्रम तय गर्नु भएको छ ?

हैन, घोषणापछि पनि नगरपालिकाले कार्यक्रम तय गरेको छ । घोषणापछि हामी जनस्तरमा समृद्धिका कार्यक्रम लागु गरेर जान्छौं । खासगरी दलित र अन्य गैरदलितबीच संयुक्त कार्यक्रम हुन्छन् । जसले यो कार्यक्रमलाई थप टेवा दिन्छ र दिगो बनाएर लिन्छ ।

तपाइँ त नगरपालिकाको प्रवक्तापनि हुनु भयो नगरले मुख्य जोड दिन खोजेको के मा हो अहिले ?

नगरपालिकाले पहिलो कुरा समग्र विषयमा सोच्ने र जोड दिने कुरा नै भयो । त्यसमध्ये पनि अहिले हामीले जोड दिने विषय तीन वटा छन् । पूर्ण जातीय छुवाछूत तथा भेदभावमुक्त नगरपालिका घोषणा अभियान, नगर सरसफाई अभियान र बालमैत्री नगरपालिका घोषणा अभियान रहेका छन् ।

तपाइँहरु आइसकेपछि जनताले देख्ने र प्रत्यक्ष अनुभूति गर्ने काम के भए ?

स्वास्थ्य, शिक्षा, सडक, कृषि, राहत, उद्दार लगायतका कामहरु गरिरहेका छौं । १३ वटै वडामा इन्टरनेट सेवा उपलब्ध छ । भौतिक संरचनामा स्कुल, स्वास्थ्य लगायत संघ संस्थाका भवनहरु बनेका छन् । सडक सबैतिर पुर्याउने काम भएको छ ।

यो अझै बिस्तार हुँदै छ । सबैलाई करको दायरामा ल्याउने काम भएको छ । कर तिर्नुपर्छ भन्ने कुरा स्थापित गरेका छौं । कर हाम्रै विकासको लागि हो भन्ने कुरा जनताले अनुभूति गरेका छन् ।

भ्राष्टाचारको कुरापनि अहिले व्यापक उठिरहेको छ, यहाँको नगरपालिकामा यसको प्रभाव के छ ?

हाम्रो नगरपालिकामा अहिले सम्म त त्यस्तो देखिएको छैन । प्रमाणको रुपमा अहिले सम्म भ्राष्टाचार भएको छैन । सुन्नमा त अब धेरै कुरा आउँछन्, सुनाउँछन् ।

तर वास्तविक प्रमाणको रुपमा त्यो अहिले सम्म आएको छैन । यो सुखद पक्ष नै हो भन्नुपर्छ । र अन्तमा विचार व्यक्त गर्ने अवसर दिएकोमा लालआवाजलाई धन्यवाद छ । लालअावाजकाे सहयाेगमा तयार पारिएकाे

तपाईको प्रतिक्रिया