अमेरिकामा कोरोना संकट : चामल मगाउँदा रित्तो बोरा आइपुग्यो

डिसेम्बरदेखि चीनको उहानबाट शुरू भएको कोरोना (कोभिड १९) को प्रभाव अहिले विश्वभर देखिन थालेको छ। अमेरिकामा कोरोनाभाइरस विरुद्ध लड्न राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सङ्कटकाल घोषणा गरेपनि त्यहाँ यसको असर बढिरहेको छ।

अमेरिकामा रहेका नेपाली पनि यसको प्रत्यक्ष मारमा परेका छन्। अमेरिकामा बसोबास गर्दे आएका पत्रकार राजेश मिश्रले कोरोनाको असरका कारण खाद्यान्न संकट हुन थालेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो पोस्ट गर्दै बजारबाट चामल मगाएको, तर रित्तो बोरा आइपुगेको उल्लेख गरेका छन्‌।

त्यस्तै अर्का नेपाली गिरीश पोखरेलले पनि कोरोनाका कारण रित्तिएका अमेरिकाका केही डिपार्टमेन्ट स्टोरहरूको फोटो पोस्ट गरेका छन्‌। अमेरिकामा व्यवसाय गर्दै आएका साना व्यवसायी पनि यसको प्रत्यक्ष मारमा परेका छन्।

भर्जिनियामा ब्युटिपार्लर चलाउने एक नेपाली सदीक्षा बुढाथोकीले ग्राहक नपाएर पार्लर बन्द गर्ने अवस्थामा पुगेको उल्लेख गरेकी छिन्‌। अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भइसकेको छ भने २ हजार भन्दा बढी संक्रमित छन् ।

तपाईको प्रतिक्रिया