समय, बा अनि प्रजातन्त्र

किशोर खनाल
आजभन्दा ३० वर्ष अगाडि २०४६ साल

हो त्यही बेलादेखि हो मैले बा लाई देखेको

त्यो भन्दा अघि त

उहाँको बारेमा सुनेको मात्र हो

उहाँ अनि उहाँका दौतरीहरूको साहसको कथा।

२०४६ सालमा

बा आउनु भएको थियो मेरो गाउँमा

ठ्याक्क नमिलेता पनि

हुलिया यस्तै नै थियो

आङमा पुरानो मुजा परेको कमेज सुरूवाल

शिरमा पुरानै ढाका टोपी

पैताला खिएको चप्पल

अनि लिखुरे ज्यान

तर त्यो ज्यानमा नेपाल बनाउने साहस थियो

रैतीलाई जनता बनाउने संकल्प थियो

जे होस् नैतिक मनोबल उच्च थियो

अनि मुहारमा थियो

आत्म सम्मान सहितको

मायालु मुस्कान

खिसिक्क हाँस्दा

लाग्थ्यो अब सारा समस्याको कायापलट हुँदै छ।

गाउँको जेठो दाइको

घरको भुइँ तलामा

गजरामा बसी

भाउजूले दिनुभाको भैंसीको आलो मोही

एकै सासमा तनतन पारी

ढ्याउ गर्दै

भन्नु भयो

प्राण आयो

अर्को एक गिलास थपौं न बुहारी ।

हामी सबैले वरिपरिबाट घेरी हेर्थौ बालाई

अनि कल्पन्थ्यौं ढुक्कले

बाको नेतृत्वमा

हाम्रो सुनिश्चित भविश्य अवश्य आउँछ भनि।

देशभरि उस्तै माहोल थियो

केवल फरक त बाहरूको नाम, थर अनि उमेर

तर बाहरूको मन उस्तै थियो

त्यसैले

भाका पनि उस्तै थियो

लवज पनि उस्तै थियो

जोश पनि उस्तै थियो

उद्धेश्य पनि उस्तै थियो

अनि संकल्प पनि

त्यसैले त प्रजातन्त्र आयो।

तर आज

बाहरू को मन बदलिएको छ रे

त्यो मुजा परेको कमेज सुरूवाल सम्झन पनि मन लाग्दैन अरे

प्रजातन्त्रको वकालत गर्नेहरूसँग

झडङ्ग रिस उठ्छ रे

प्रजातन्त्रका कुरा गर्नेको अनुहार पनि हेर्न मन लाग्दैन रे

मजदूर वर्गको संगठनको त पसिना गनाउँछ रे

अनि ठालुहरूको संगठनमा मनमोहक अत्तरले गर्दा जाऊँ जाऊँ लाग्छ रे

उनीहरूको अनुहार हेरूँ हेरूँ लाग्छ रे

हिजोसम्म पढेलेखेका युवाहरूलाई एकीकृत गर्दै हिँड्ने बा

आज बुद्धिजीवी देख्दा मुन्टो अन्तै फर्काउँछन् रे

तर्क सुन्दा भाउन्न हुन्छ रे

रे नै भन्नु पर्छ, किनकी बालाई नभेटेको दशकौं भो मैले।

उता

गाउँमा अझै छिन् ती मोही खुवाउने भाउजू

रुन्छिन् बेला बेला

खाडीमा गएको छोरासँग फोनमा कुरा गर्दै

अझै छन् ती गजरा ओछ्याउने भाइ

खाडीको एजेन्टको फोन पर्खेर बसेको

अनि ती गाउँलेहरू

दिनमा एक पटक भेला हुन्छन्, बस्छन् त्यही पुरानो गजरामा

मोही खाँदै

कुरा गर्छन् बा कै बारेमा।

हिजो जस्तो लाग्छ

त्यहीँ गाउँमा

कोही भन्थे

बाको घरमा त करोड घटी त पालेले पनि बोल्दैनन् रे

अनि बाँकी सबले भन्थे बाफ रे बाफ…

कोही भन्थे

सकारात्मक सोचको फाइदा भन्दै

बालाई चौबिसै घण्टा भजन किर्तन सुनाउँछन् रे

शुभ शुभ खबर मात्र सुनाउँछन् रे

अनि रेशमी कमिज सुरूवाल भन्दै

महँगो महँगो कपडा लगाइदिन्छन् रे

अनि फेरि बाँकी सबले भन्थे बाफ रे बाफ…

कोही भन्थे

बालाई पहरेदारले घेरेका हुन्छन् रे

बा लाई ठूला ठूला मान्छेले मात्र भेट्न पाउँछन् रे

बा लाई भेट्न गाह्रो छ रे

अनि फेरि बाँकी सबले भन्थे बाफ रे बाफ…

अर्कोले थप्थे

बा लाई मोतियाबिन्दु भयो रे

के सही के गलत छुट्याउनै सक्दैनन् रे

अनि सबैले होला होला भन्थे

अनि सबैले होला होला भन्थे

अनि सबै ले होला होला भन्थे

किनकी त्यहाँ भएका सबैको मन कतै न कतै दुखेको, टुटेको थियो।

मैले पनि होला भने

किनकी

बा सर्वशक्तिमान भएका थिए

राजाको नजिक बस्ने भएका थिए

महलमा बस्थे

सेवकहरूले घेरिएका हुन्थे

अनि त्यहाँको माहोल पनि आखिरमा त त्यस्तै नै थियो!

फेरि एक जनाले बोले

बाले गल्ती गरे!

के गल्ती नै गरे त?

साँच्चै नै गल्ती गरे त?

भनि बाँकी सबले भने।

बहसको सिर्जना भयो

ठूलै बहस

कुरा यस्तै यस्तै उठे

के बाले धनी हुन नपाउनु?

के बाले ठूलो घर बनाउन नपाउनु?

के बाले महँगो रेशमी कपडा लगाउन नपाउनु?

के बाले अत्तर छर्केर हिँड्न नपाउनु?

के बाले करोडको कुरा गर्न नपाउनु?

के बाले महँगो गाडीमा सयर हुन नपाउनु?

पाउनु पर्छ, पाउनु पर्छ… पाउनु पर्छ

किनकी बा हाम्रै हो

भनि एकथरिले भने

पाइँदैन, पाइँदैन …पाइँदैन

किनकी बा हाम्रो होइन

भनि अर्कोथरिले भने

दुवै खाले आवाज गाउँमा उठे

सशक्त उठे

सुरूमा

केही युवा उठे

पछि पूरै गाउँ नै उठ्यो

अनि एक हुल युवा विद्रोहमा लागे

अर्को हुल भण्डाफोर गर्नमा लागे

एउटा हुल पक्षमा लाग्यो

अर्को हुल विपक्षमा लाग्यो

रहल पहल अनि दोधार मन जतिको हुल समयको पर्खाइमा लाग्यो

नजिक अनि टाढा, सबैतिरका छिमेकीहरू कित्ता कित्तामा बाँडिए..

अविश्वासको बादल आकाशमा मडारियो

विद्रोहको बादल मनभित्र मडारियो

त्यसै बखत सुरू सुरूमा शब्द पड्किए

अनि बादल जुधे झैं शब्द जुधे

त्यसपछि बिजुली चम्के झैं झिल्लिक्क गर्‍यो

अनि गड्याङ गुडुङ गर्‍यो

गाउँलेले भने बन्दुक पड्कियो

चट्याङ परेझैं आवाज आयो

गाउँलेले भने तोप पड्कियो

झिलिक्क, मिलिक्क, झिलिक्क मिलिक्क…

रातभरि भै रह्यो

रातभरिमा

गोला बारुद

सबै पड्कियो

जुन पड्कनै हुन्न थियो

लामै समय युद्ध भयो

ठूलै युद्ध भयो

ठूलो जनधनको क्षति भयो

धेरै निर्दोष मरे

धेरै परेवा मरे

बल्ल तल्ल बुद्धको देशमा फेरि एक पटक शान्ति छायो

त्यही बखत एक हुल परेवा खुसी हुँदै उडे

सारा गाउँलेले भने, धन्न बाँचियो।

फेरि बाहरू मिले

अनि राजा फाले

अनि आफू त्यहाँ बसे

मजाले बसे

जाने जति मजाले बसे

हिजो जसको विरोध गर्थे

त्यही विधि विधान अनुसार बसे

हो राजाको देखा सिकी गर्दै मजाले बसे।

गाउँमा अझै पनि त्यही कुरा हुन्छ अरे

अलि कति थपेर

अरबको गफ थपेर

घडेरीको भाउ थपेर

मोबाइलको बयान थपेर

अनि जाने जति देश विदेशको कुरा थपेर

उही कुरा हुन्छन्

जुन हिजो हुन्थ्यो मोही खाँदै गजरामाथि बसेर

तर आज सोफामा बसेर

अथवा कार्पेट माथि बसेर।

हो त्यसै गरी चल्दै छ विगतको यो ३० वर्ष

लाग्छ बाहरू कौडा खेल्दै छन्

प्रजातन्त्रलाई कौडा सरह खालमा फालिरहेका छन्

थाहा छैन, जितिरहेका छन् कि, हारिरहेका छन्

थाहा छैन बाहरूले के जितिरहेका छन्?

तर अवश्य हारिरहेका छन् त्यो पुरानो इज्जत, माया इमान अनि आत्मसम्मान।

बाहरूको दैनिकी यस्तै हो भने

एक दिन

हार्ने छ प्रजातन्त्रले सदाको लागि

अनि हार्ने छौं हामीहरूले हाम्रो भविष्य

हार्ने छन् हाम्रो सन्तानले उनीहरूको भविष्य।

आजकल

म रातभर सोच्दछु

यस्तै हो भने

भविश्यमा बाहरूका शालिक ठडिने हुन् कि ढल्ने हुन् भनि?

म दिन भर कल्पन्छु

भविश्यमा बाहरूका फोटो मन मस्तिक अनि बैठक कोठामा सजिने हुन् कि रछ्यानमा मिल्किने हुन् भनि?

अनि फेरि मन दोमन हुन्छ

अनि मनमा प्रश्न आउँछ

जब ऋणले थाप्लो किचेपछि विदेसिएको नवदुलहा

बन्द बाकसमा लास बनि देश भित्रिन्छ

अनि बिहेमा हातमा लगाएको मेहन्दी नै नमेटिएकी विधवाले

अनि त्यो जन्मेको गर्भे टुहुरोले

मेरो बा अनि प्रजातन्त्रलाई कसरी मूल्यांकन गर्लान्?

हो मेरो बा अनि प्रजातन्त्रलाई कसरी मूल्यांकन गर्लान्?

तपाईको प्रतिक्रिया