बिरामी चापाचाप, शैया अभाव

हुम्ला — जिल्ला अस्पतालमा चिसोका बिरामीको चाप बढे पनि शय्या अभाव हुँदा उपचारमा सास्ती भएको अस्पतालले जनाएको छ ।
केही दिनयता रुघाखोकी, ज्वरो, निमोनिया, हातखुट्टा झमझमाउने, शरीर दुख्नेलगायत समस्या बोकेर बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए । उनका अनुसार दैनिक करिब ८० जना बिरामी आउने गरेका छन् । १५ शय्याको अस्पतालमा बिरामी भर्ना गर्न नसक्दा औषधि दिएर फिर्ता गर्नुपरेको उनले बताए । ‘हिमपात र चिसोका कारण बिरामीको चाप बढेको बढ्यै छ,’ उनले भने, ‘भुइँमा राखेर उपचार गराउँदा झन् समस्या हुने भएपछि औषधि दिएर घर पठाउनुपर्ने बाध्यता छ ।’
खार्पुनाथ, सर्केगाड, नाम्खा र चंखेली गाउँपालिकामा औषधि अभाव भएपछि बिरामी घण्टौं हिँडेर जिल्ला अस्पताल आउने गरेका छन् । खार्पुनाथकी बासकला जेठाराले गाउँका स्वास्थ्य चौकीमा सधैंजसो औषधि अभाव हुने गरेको बताइन् । ‘जिल्ला अस्पताल आए पनि बेड पाइएन,’ उनले भनिन्, ‘मजस्ता अरु बिरामी पनि बिराम बोकेर बसिरहेका छन् ।’ रुघाखोकीले सताएपछि उनी दुई साताअघि जिल्ला अस्पताल आएकी थिइन् ।

सिमकोटमा आफन्तको घरमा बसेर औषधि खाइरहेको उनले बताइन् ।गाउँका स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइँदा सदरमुकाम आउनुको विकल्प नभएको स्थानीय पुष्पा शाहीको गुनासो छ । उनका अनुसार सिमकोट गाउँपालिकास्थित खोल्सी सामुदायिक स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी छैनन् । उनी १४ महिनाको छोरालाई निमोनिया भएपछि उपचारका लागि सदरमुकाम आएकी हुन् । ‘केही दिन त घरमै जडीबुटी खुवाइयो,’ उनले भनिन्, ‘निको नभएपछि अस्पताल ल्याएकी हुँ, तर बेड पाइएन ।’
अस्पतालका अनुसार जिल्लाभरि बालबालिकामा निमोनिया र ‘कोल्ड डायरिया’को लक्षण बढिरहेको छ । ज्येष्ठ नागरिकमा दम र हाडजोर्नी दुख्ने समस्या देखिएको छ । ‘गाउँका स्वास्थ्यचौकीमा पर्याप्त औषधि, उपकरण र स्वास्थ्यकर्मी नहुँदा सबैको भरोसा यही अस्पतालमा हुन्छ,’ सूचना अधिकारी फडेराले भने, ‘पुराना बिरामीलाई सञ्चो नभइ फर्काउनु भएन, त्यसैले नयाँ बिरामीलाई चेकजाँच गरी औषधि दिएर पठाउँछौं ।’ उनले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई प्राथमिकता दिई इमरजेन्सीमा भर्ना लिइरहेको बताए । उनका अनुसार बिरामी बढ्दा चिकित्सक र स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ ।

तपाईको प्रतिक्रिया