महिलाले घन्काउँछन् पञ्चेबाजा

रुकुम पश्चिम — जिल्लामा हुने मेला–महोत्सवमा ५९ वर्षीया पुतला दमाइको भूमिका हुन्छ, बाजा बजाउने । उनी अग्रपंक्तिमै लागेर पञ्चेबाजा घन्काउँछिन् ।
पुतलामात्र होइन, मुसीकोटका हीरा नेपाली, कमला नेपाली र कुमारी नेपाली पनि बाजा बजाउन अगाडि सरिहाल्छन् । महिलाले बाजा बजाउनु हुँदैन भन्ने मान्यतालाई उनीहरूले चुनौती दिएका छन् । उनीहरूले २०७१ सालमा सिर्जनशील महिला पञ्चेबाजा समूह गठन गरेका हुन् । ‘बाजा त जसले बजाए पनि हुन्छ, पुरुषले मात्र बजाउनु पर्छ भन्ने छैन,’ पुतला भन्छिन्, ‘त्यही भएर हामी समूह बनाएरै बाजा बजाउन थालेका हौं ।’

मुसीकोटमा जस्तै बाँफिकोट गाउँपालिकामा महिलाको दुईवटा पञ्चेबाजा समूह छ । उनीहरूले स्थानीयस्तरका विभिन्न सार्वजजिक कार्यक्रममा पञ्चेबाजा बजाउँछन् । ती समूहमा २१ जना महिला संलग्न छन् । यी समूहले पाँच वर्षदेखि बाजा बजाइरहेका छन् । महिलाहरू काँधमा दमाहा, ट्याम्का, हातमा छिल्लर, मुखमा सनही, नरसिंङा बोकेर विभिन्न कार्यक्रममा पुग्ने गर्छन् । कुनै दिन त दुई/तीनवटासम्म कार्यक्रममा सहभागी हुने गरेको हिराले बताइन् ।

स्थानीय बासिन्दा कमल केसीले पछिल्लो समय पञ्चेबाजा बजाउनुपर्ने कार्यक्रममा पहिलो रोजाइमा महिला पर्ने गरेको बताए । महिलाले बाजा बजाउँदा अनिष्ठ हुन्छ, लच्छिन सकिन्छ भन्नेजस्ता गलत मान्यता पनि हराएको उनको भनाइ छ । ‘यी महिला पञ्चेबाजा बजाउन अब्बल भइसके,’ उनले भने, ‘गलत मान्यताविरुद्ध संगठित भएर जाँदा महिलाले सबैको वाहवाही कमाएका छन् ।’ महिलाको यस्तो कामले जातीय विभेदसमेत घट्दै गएको उनले बताए ।

समूहकी अध्यक्ष हीराले बाजा बजाउने काम महिलाका लागि सजिलो नभए पनि परम्परादेखि चलिआएको गलत मान्यता तोड्नको लागि अग्रसर भएको बताइन् । ‘सुरुमा कुरा काट्ने र गलत सोच्नेहरू अहिले प्रशंसा गर्नुहुन्छ,’ उनले भनिन्, ‘समाजले समेत स्वीकारिसकेको छ ।’

बाजा बजाएर महिलाले राम्रो आम्दानी पनि गरिरहेका छन् । एउटा कार्यक्रममा बाजा बजाएबापत कम्तीमा ५ हजार रुपैयाँ तोकिएको छ । सातामा पाँच वटासम्म कार्यक्रम भ्याउने गरेको हीराको भनाइ छ । यसरी कमाइने रकम समूहका सदस्यले बाँडफाँट गर्ने गरेको उनले बताइन् ।

मुसीकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनारले पञ्चेबाजा बजाउन थालेका महिलाको कारण समाजको बुझाइमा परिवर्तन आउनु ठूलो सफलता भएको बताइन् । ‘पञ्चेबाजा बजाउने दिदीबहिनीले बाजा मात्रै बजाउनु भएन,’ उनले भनिन्, ‘सोच बदलेर सबैलाई सही हो भन्ने धारणा स्थापित गर्नुभयो, अन्य क्षेत्रमा पनि यस्तै परिवर्तनको खाँचो छ ।’ कान्तिपुर

तपाईको प्रतिक्रिया