जाजरकोट । भेरी नगरपालिका–११, कट्टीगाउँकी पार्वती सुनार २१ बर्षकी भइन् । उनी अहिले पाचौं सन्तान जन्माउने तरखरमा छिन् । १३ वर्षको उम्मेरमा विवाह गरेर एक वर्षमै पहिलो सन्तान जन्माएकी उनले त्यसपछि थप तीन सन्तान जन्माइन् ।
तर, अहिले दुई सन्तान मात्र जीवित छन् । कट्टीगाउँ कै २२ वर्षीय गौरी कामीले तेस्रोपटक गर्भधारण गरेकी छिन् । उनले १४ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी थिइन् । वालविवाहको अवस्था कति भयावह छ भन्ने तथ्य गाउँमा रहेका स्वास्थ्य संस्थाको तथ्यांक केलाउँ दा पनि देख्न सकिन्छ । किशोरी अवस्थामै विवाह गरेर आमा बन्ने पार्वती र गौरी प्रतिनिधी उदाहरण मात्र हुन् । बालविवाहको कारण जाजरकोटमा उनीहरु जस्ता थुप्रै महिला र शिशुको ज्यान जोखिममा रहेको भेरी नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शारदा शर्मा वताउछिन् ।
शर्माका अनुसार जिल्लामा हुने विवाह मध्ये ६० प्रतिशत बालविवाह हुने गरेका छन् । गत साता जगतिपुर स्वास्थ्य चौकीमा ४१ गर्भवतीले भिडियो एक्सरेद्वारा गर्भजाँच गराए । तीमध्ये अधिकांशले १३ देखि १६ वर्षका उम्मेरमै बिबाह गरेको पाईएको उनले वताइन् । उनीहरुले विवाह भएको १ बर्ष नवित्दै पहिलो सन्तान जन्माउने गरेका छन् ।
गर्भ जाँच गराउने ४१ जना गर्भवतीमा ३४ जना किशोरी रहेका छन् । यस जिल्लामा बालविवाहका कारण महिलाहरु पढाई बाधा पुग्ने, अस्वस्थता, सम्बन्ध विच्छेद गर्न वाध्य हुने लगायत समस्याबाट पिडित बनेका छन् । उमेर नपुग्दै विवाह गरेका महिला बढी हिंसा पिडित बनेको पाइएको छ । उमेर नपुग्दै बालविवाह गरेका महिला नै न्याय खोज्न अदालत, महिला तथा बालबालिका कार्यालय, न्यायिक समिति, प्रहरी लगायत निकायमा धाउन वाध्य छन् ।
उनीहरु सम्बन्ध विच्छेद, लालनपालन खर्च, नाता कायम, नागरिकता तथा जन्म दर्ता, अंश र सासु ससुरा तथा पतिको हिंसा विरुद्ध न्यायिक निकायमा धाउन वाध्य भएका हुन् । सानै विवाह गर्दा जीवन वर्वादमा परेको पार्वतीले वताइन् । पढ्ने लेख्ने र पेशा व्यवशाय गर्ने उमेरमा ४र५ वटा बच्चा जन्माउन र घर ब्यवहार धान्न वाध्य भएको उनले वताइन् ।
वाल विवाहका कारण विद्यालय शिक्षा समेत प्राप्त गर्न नसकेको र स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनले वताइन् । भेरी नगरपालिकाले गत साता संचालन गरेको गर्भवती आमाको लागि निःशुल्क भिडियो एक्सरे जाँचबाट बालबिबाहको डरलाग्दो तथ्य देखा परेको छ । भेरीले भुर र जगतिपुर स्वास्थ्य चौकीमा संचालन गरेको उक्त जाँचबाट बालबिबाहको डरलाग्दो तथ्य फेला परेको स्वास्थ्य शाखा प्रमुख निशा थापाले वताइन् ।
भुर जगतीपुर गरी ९१ जना गर्भवती गर्भजाँच गरेको उनले वताइन् । गर्भ जाँच भएका मध्ये ७० प्रतिशतले किशोरी अवस्था विवाह गरेको पाइएको थापाले वताइन् वाल विवाहका कारण आमा तथा शिशुको स्वास्थ्य जोखिममा पर्ने गरेको उनले वताइन् ।
सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउनुको साथै आमा र शिशुको पोषण सुधार गर्ने संचालन गरेको उक्त जाँच सेवापछि बाल बिबाहको डरलाग्दो तथ्य फेला परेको उनले वताइन् । बाल बिबाह वढ्दै गएको अवस्थामा बाल अधिकार र बाल बिबाहका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संघरसंस्थालाई चुनौती थपेको उनले वताइन् ।
यहा संचालन भएका बहुक्षेत्रीय पोषण योजना, सुआहारा, सेभ लगायत परियोजना पनि लक्षित समुदायसम्म पुग्न नसकेको उनले वताइन् । भेरीले हरेक महिनाको १ पटक मातहतका सम्बन्धित स्वास्थ्य चौकीबाट गर्भवती आमाका लागि निःशुल्क भिडियो एक्सरे सेवा संचालन गर्ने योजना बनाएको प्रमुख थापाले वताइन् ।
१४र१५ बर्षमा विवाह गरेर १९र२० बर्षको उमेर नपुग्दै दुई सन्तान जन्माउने अनि सम्बन्ध विच्छेदको लागि अदालत पुग्नेको संख्या बढ्दै गएको नायव सुब्बा उज्जलदेव रावलले बताए । कुट्पिट, खानलाउन नपाएको लगायत कारण देखाउदै सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेको रावलले बताए । कानुन कार्यान्वयनको पक्ष कम्जोर हुनुको साथै सचेतनाको अभावले बाल विवाहले समाजमा प्रश्रय पाएको रावलको ठम्याई छ । ‘विवाह गर्ने उमेर समेत नपुगेको किशोरी २र३ वटा बच्चा लिएर हिंसा भयो भन्दै आउनु हुन्छ,’ उनले भने ।
बाल विवाहले पुरुष भन्दा महिलालाई बढी समस्यामा पार्ने गरेको उनले बताए । सामाजिक परम्परा, देखासिकी, यौनिक तथा आर्थिक आवश्यकता लगायत कारण बालविवाह हुने गरेको रावलको भनाई छ । बाल विवाहले महिलालाई अस्वस्थता, पढाईबाट बन्चित, वेराजगारी र हिंसाको शिकार बनाएको उनले बताए । बाल विवाह न्युनीकरणका लागि स्थानीय तह जिम्मेवार भएर वालविवाह विरुद्धको अभियानमा जुट्नु पर्ने उनले बताए ।
बालविवाह जस्तो कुसंस्कारले जरो गाड्न थालेपछि यहाँका सबै स्थानीय तह बाल विवाह न्युनिकरणको अभियानमा जुटेका छन् । बाल विवाह गर्ने गराउनेलाई सामाजिक बहिष्कार समेत गर्ने गरी अभियानमा जुटेको कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वताए । स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवालालाई साथमा लिएर गत बर्ष देखि बालविवाह न्युनिकरण अभियानमा लागेको अध्यक्ष बस्नेतले वताए । ‘एकै बर्षमा बालविवाह अन्त्य गर्न नसकेपनि जनचेतनाका माध्यमबाट अभियान जारी रहने छ,’ उनले भने । बाल विवाह न्युनिकरणको रणनैतिक योजना बनाएर अघि बढ्न लागेको उनले वताए ।
पहिलो चरणमा बालविवाह बारे सचेतीकरण, बालविवाह पुर्ण रुपमा निषेध गर्ने, बाल विवाहको भोज, निम्ता, जन्ति र बाजा वहिष्कार गर्ने, बालविवाहलाई वढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि कार्यक्रम नगर्र्ने, बालविवाह न्युनीकरण सम्बन्धि बहस पैरवी गर्ने लगायत कार्य योजनाका साथ अभियान थालेको उनले बताए ।
‘उमेर नपुग्दै गरिने विवाहले महिला पुरुष आत्मनिर्भर हुन समस्या हुने, महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने, सम्बन्ध विच्छेद, बहुविवाह जस्ता सामाजिक विकृति बढ्ने लगायत समस्याका कारण बालविवाह न्युनिकरणलाई मुख्य अभियान बनाएको बस्नेतको भनाई छ । नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बर्षाै बालविवाह बढ्दै गएको जानकारी दिए ।
















































। २५ फाल्गुन २०७६, आईतवार