कर्णालीमा क्रियाशील दलित पत्रकार : अध्यक्षमा मदन विश्वकर्मा !

सुर्खेत । क्रियाशील दलित पत्रकार संघ, नेपाल (आडजोन)को कर्णाली प्रदेश समिति गठन भएको छ । दैलेखका पत्रकार मदन विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार भएको भेलाले विश्वकर्माको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रुकुमका पत्रकार हिरा परियार, महासचिवमा जुम्लाका पत्रकार सागर परियार, सचिवमा जाजरकोटका कालीबहादुर नेपाली र कोषाध्यक्षमा लोकेन्द्र विश्वकर्मा चयन भएका छन ।

सदस्यमा मुगुका पत्रकार खडक सुनार र जाजरकोटका पत्रकार शुशिला विश्वकर्मा रहेका छन । समितिको सल्लाहकारमा कर्णाली प्रदेशका बरिष्ठ पत्रकार गणेश चिन्तन र ललित बसेल छन । चिन्तन नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष हुन भने बसेल वीरेन्द्रनगरबाट प्रकाशित हुने सुर्खेतपत्र दैनिकका सम्पादक हुन ।

भेलाअघि कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा सचेतक सीता नेपाली, प्रदेशसभा सदस्य राजु नेपाली, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक उपेन्द्र विश्वकर्मा, बुलबुले सञ्चार केन्द्रका सचिव बसन्त विश्वकर्मा, कलाकार तथा निर्देशक बालकृष्ण सुनार, युवा अभियान्ता सजना सुनारले कर्णाली प्रदेशमा दलित समुदायको अवस्था र समस्याका विविध विषयमा गहन बिचार प्रस्तुत गरेका थिए ।

‘राजनीतिमा दलित, महिला, विभेद र मुक्तिको लडाई’ विषयक शीर्षकमा आफ्नो बिचार प्रस्तुत गर्दै नेकपा सचेतक तथा कर्णाली प्रदेशसभा सदस्य सीता नेपालीले दलित समुदायको मुद्दा स्थापित र विभेद अन्त्यका लागि सबै तहबाट छलफल, बहस र अभियान आवश्यक रहेको बताइन । यसका लागि पत्रकारले सबैभन्दा बढी प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाई छ । संविधान र संघीयताले दलित समुदायका लागि अवसर सिर्जना गरेपनि त्यो सदुपयोग हुन नसकेको उनको भनाई थियो ।

समितिका नवनिर्वाचित अध्यक्ष मदन विश्वकर्माले मिडियामा दलित समुदायका पत्रकारको सहभागिता र क्षमता अभिबृद्धिमा केन्द्रित रहेर काम गर्ने बताए । अध्यक्ष विश्वकर्माले काम गर्नका लागि छिटो, छरितो र चुस्त रुपमा काम गर्नका लागि सानो टिम बनाइएको बताए ।
समितिका सल्लाहकार बरिष्ठ पत्रकार गणेश चिन्तनले मिडियामा क्रियाशील रहेका दलित पत्रकार संगठित भएर नयाँ उर्जाका साथ बहस, छलफल र पत्रकारितालाई व्यवसायिक बनाउन ठूलो सहयोग पुग्ने बताए ।

दलित पत्रकारको एकता चुनौतिपूर्ण बनेका बेला नयाँ पुस्ताका युवा पत्रकारहरुको क्षमता र अग्रसरता सराहनीय रहेको भन्दै यसलाई कायम राख्नुपर्ने तथा नयाँ पत्रकार उत्पादनमा जोड दिनुपर्ने बताए । रुकुमका पत्रकार गणेश श्रीपाइलीले दलित समुदायका पत्रकारले पत्रकारिता थालेपनि मिडियामै टिकिरहन संघले काम गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया