सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू

सल्यान : सवारी दुर्घटना कम गर्न जाजरकोट-सल्यान-सुर्खेत सडकखण्डमा टाइम कार्ड लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको पहलमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सल्यानको सहकार्यमा सो सडकखण्डमा टाइम कार्ड लागू गरिएको हो। उक्त सडकखण्ड सडक साँघुरो र कच्ची भएका कारण टाइम कार्ड लागू गरिएको सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ढकेन्द्र खतिवडाले बताए।

साँघुरो सडकखण्डमा तीव्र रुपले गाडी गुड्ने भएकाले दुर्घटनाको उच्च जोखिमलाई न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको उनले बताए। जसअन्तर्गत रिम्ना-होलुखोला ९ किलोमिटर १ घण्टा, होलुखोलादेखि खलंगा बसपार्क ६ किलोमिटर ४५ मिनेट, खलंगा बसपार्क मटेला ९ किलोमिटर ३० मिनेट, मटेलादेखि कुदुसम्म ५ किलोमिटर २५ मिनेट, कुदुदेखि छेडाचौर २२ किलोमिटर १ घण्टा २० मिनेटको समय तय गरिएको छ।

यस्तै छेडा चौरदेखि सुर्खेत राकमसम्म २४ किलोमिटर १ घण्टा ३० मिनेट, सुर्खेत राकमदेखि सल्यानको सल्लिबजारसम्म ३ किलोमिटर १० मिनेट, सल्लिबजारदेखि बोटेचौर सुर्खेतसम्म २३ किलोमिटर १ घण्टा ३० मिनेटको समय तय गरिएको प्रहरीले जनाएको छ। टाइम कार्डमा लागू भएको समयभन्दा पहिला नै गन्तव्यमा पुगेको पाइएमा जरिवाना गरिने डिएसपी खतिवडाले जानकारी दिए।

उनले तोकिएको समयमा यातायातका सवारी साधन समयभन्दा पहिला पुगेको खण्डमा एक हजारदेखि पाँच सयसम्म जरिवाना गरिने उनको भनाई छ। उनले तोकिएको समयसम्म सवारी साधन रोकेर मात्र गन्तव्यका लागि छोड्ने जानकारी दिए। साथै यस अभियानले सडक दुर्घटना कम गर्न मद्दत पुग्ने विश्वास लिएको खतिवडाको भनाई छ।

तपाईको प्रतिक्रिया