नेकपा अनावश्यक विवादमा अल्झियोः गृहमन्त्री थापा

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले देशमा मध्यावधि निर्वाचन हुन्छ भनेर केही व्यक्तिले चलाएको हल्ला वास्तविकता नभएको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका गृहमन्त्री थापाले यस्तो बताएका हुन्। गृहमन्त्री थापाले अमेरिकी परियोजना एमसिसी, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिशनको अडियो प्रकरण, संविधान संशोधनलगायतका विषयमा नेकपाभित्र अनावश्यक विवाद बढ्दै गएको समेत जनाए।

उनले पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओली गौतमलाई राष्ट्रिय सभामा लैजान तयार नदेखिएका बेला गृहमन्त्री थापाले गौतमलाई राष्ट्रियसभामा लाने निर्णय पास हुने पनि बताए।

फरक प्रसंगमा गृहमन्त्री थापाले नेपालले आफ्नो सम्पूर्ण भूमि समेटेर छिट्टै नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको समेत जानकारी दिए।

केन्द्रीय कमिटीको बैठकले भारतले मिचेको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारलाई निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया