सभामुख चयन प्रक्रिया चाँडो गर्न नेकपालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाटै सभामुख चयन प्रक्रिया थाल्न आग्रह गरेको हो । कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार फरक दल र फरक लिंगका आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनीसमेत दिएको छ । राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताए ।

सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाअनुसार कांग्रेसले पनि दुईमध्ये एकमा रुचि राख्नु स्वभाविक भएकाले उनले बताए । पाण्डेका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफलपछि मात्रै उमेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ ।

पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ । पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रतिध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले यही सदनबाटै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरूलाई सहयोग गर्न पनि आग्रह गरेको छ । संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरूले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको बताए ।

तपाईको प्रतिक्रिया