कोभिड प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन आग्रह

काठमाडौ : नेपाल पत्रकार महासंघले कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गरेका हुन्। सो अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गरे।

उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यवसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरुलाई प्रत्यक्ष लाभ पुग्ने कोभिडबाट अतिप्रभावित पत्रकारहरुलाई थप लेखनवृत्तिको व्यवस्था गर्न जरुरी रहेको बताए।

महासचिव रोशन पुरीले पत्रकार कल्याकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गरे। पत्रकार महासंघका पदाधिकारीहरुले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासंघको भवनमा पूर्वाधार बढाउन लगायतमा सहयोग गर्न पनि आग्रह गरे।

सो क्रममा अर्थमन्त्री पौडेलले प्रेस स्वतन्तत्राको प्रवर्धन र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताए। उनले आलोचना र प्रश्नहरु लोकतन्त्रका सुन्दर पक्षहरू रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा राखे। अर्थमन्त्री पौडेलले महासंघका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिवद्ध रहेको बताए।

तपाईको प्रतिक्रिया