७ बैशाख २०७८, मंगलवार

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा पाँच घरमा क्षति

सल्यान : कुमाख गाउँपालिका-३ मा रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्रीमा पस्दा पाँच घरगोठ जलेको छ। वनमा लागेको डढेलो सोमबार दिउँसो राम्रीको गाउँमा पसेको थियो ।

आगोले नन्दराम वलीको १ घर र १ गोठ, क्षेत्रबहादुर वलीको १ घर र १ गोठ होतिराम वलीको १ गोठ पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना, नगद गरी करिब २० लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको पौडेले बताए। बस्तीमा पसेको आगो प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । लामो समयको खडेरीका कारण सल्यानका अधिकांश वनहरूमा अहिले डढेलो लागिरहेको छ।