
काठमाडौं : भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रका सांसद कृष्णलाल भँडेलले २०७६ मंसिरको उपनिर्वाचन चुनावका बेला स्थानीयको घरमा पुगेर भनेका थिए, ‘मलाई भोट दिनु, मनोहरा खोलाको मूलपानी र दुवाकोट जोडने पुल बनाउँछु।’
तर, उनी विजयी भएको एक वर्ष भन्दा बढी समय नाघिसक्यो। न त उनले गरेको वाचा पूरा गरे, न त स्थानीयको गुनासो नै सुन्न चाहे।
अहिलेसम्म स्थानीयहरू बाँसको सहायताबाट खोला पार गरिरहेका छन्। यो उनीहरूको रहर नभई बाध्यता हो।
‘वर्षातको सिजनमा खोला नै पार गर्न सकिँदैन,’ स्थानीय गोपाल बहादुर थापा दुखेसो पोख्छन्, ‘कृष्ण भँडेल चुनाव अघि मलाई भोट दिनु,म पुल बनाउँछु भन्नुभएको थियो, तर उहाँ जितेर कहाँ पुगिसके,अहिलेसम्म हामीकहाँ आउनु नै भएन।’
उनका अनुसार ती ठाउँमा पहिला २०७६ सालमै झोलुंगे पुल बनाउने योजना आएको थियो। त्यसका लागि सामग्रीहरू समेत झारिएको थियो। तर स्थानीयले मानेन। ‘यो ठाउँमा झोलुंगे पुलभन्दा बढी अत्यावश्यक सवारीसाधन हिँड्ने मोटरेबल पुल हो,’ उनले भने, ‘हाम्रो माग यही पुल बनाउनुपर्छ भन्यौं, तर राजनीतिक हावी हुँदा अहिलेसम्म पुल बनेन।’
सवारीसाधन हिँड्ने पुल नहुँदा बिरामी व्यक्तिलाई अस्पतालसम्म पुर्याउनै सकस हुने गरेको उनले सुनाए। ‘२०५८ सालबाटै पुल निर्माण गर्न सम्बन्धित निकायमा निवेदन दियौँ, त्यहाँ जाँदा ती निकायका पदाधिकारीहरूले उल्टै तिमीहरूको ठाउँमा आवाज उठाउने नेता छैन भनेर प्रतिप्रश्न गरे,’ थापाले भने।
बालबालिका बढी जोखिममा
मनोहरा खोलामा पुल नहुँदा दुवाकोट,चाँगु , झ्याउँखेल र पीखेलका स्थानीयले कठिनाइ भोगिरहेका छन्। वर्षायाममा खोलामा ठूलो बाढी आउँदा बालबालिका जोखिममा पर्ने गर्छन्। सोही ठाउँका एलिसा राईले पुल नहुँदा बालबालिकालाई स्कुल पुग्न समेत समस्या भएको सुनाइन्।
‘मेरो छोराछोरी स्कुल जान्छन्, तर पुल छैन, बाँस माथि हिँडेर जान्छन्, वर्षातको समयमा खोला पार गर्न नै सकिँदैन,कतिपयको खोलाले ज्यान समेत लिएको छ, यी क्षेत्रमा सवारीसाधन ल्याउन पनि सकिँदैन,’ उनले भनिन्।
उनका अनुसार पुल नहुँदा रोजगारीका लागि अफिस जाने र स्थानीयको जीविकोपार्जन गर्नमा समेत बाधा पुगेको छ। ती ठाउँका स्थानीयले कसैको लाश पशुपतिमा सोही खोला हुँदै लाने परम्परा छ, सो परम्परा अहिलेसम्म कायमै छ।
कलेज जानै समस्या
विपुल कार्की तीनकुनेको भीएस निकेतन कलेजमा पढ्छन्। उनी पनि पुल नहुँदा त्यही समस्या भोगिरहेका छन्।
कार्कीले भने, ‘म बिहानै कलेज जान्छु, कलेजको लागि बस चढ्न खोला नै पार गर्नुपर्छ, अहिलेसम्म त बाँसबाट पार गर्दैछु, वर्षायाममा भने समस्या हुन्छ।’ पुलकै समस्याका कारण समयमै कलेज समेत पुग्न नसकेको उनी बताउँछन्।
वाचा गरेका सांसद् कुरै गर्न मान्दैनन्
पुल निर्माण विषयबारे बुझ्न पटक-पटक फोन गर्दा पनि सांसद भँडेल सम्पर्कमा आउन चाहेनन्।
‘म व्यस्त छु, पछि फोन गर्नुस्,’ यसो भनेका उनले पछिल्लो पटक फोन गर्दा पनि उठाउँदै उठाएनन्।
नगरपालिकाको जवाफ – बजेट छैन
देश संघीयतामा गइसकेपछि केन्द्रको विकासका अधिकार हरेक स्थानीय तहमा गएको छ।
सोही अनुसार बजेट निकासा हुनेगर्छ। स्थानीयले सेवा-सुविधा विस्तार हुने अपेक्षा लिन्छन्। तर, चाँगुनारायण नगरपालिकाका भने बजेट नभएको भन्दै पन्छिरहेको छ।
नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘पुलको निर्माणका लागि बजेट नै छैन, त्यसैले पुलको आवश्यक भएपनि बनाउन सकिएन।’ उनले पुल निर्माण निम्ति आवश्यक बजेट भौतिक तथा पूर्वाधार मन्त्रालयमा माग गरेकाले निकासा भएपछि मात्रै पुल बनाउने सकिने बताए। thaha khabar
















































। ५ बैशाख २०७८, आईतवार