बेंगलुरुसँग आर्मीको फराकिलो हार

काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा भारतको बेंगलुरु एफसीसँग फराकिलो हार व्यहोरेको छ ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५-० गोल अन्तरले पराजित भएको छ ।

बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २/२ गोल गरे । सुनिल क्षेत्रीको नाममा एक गोल रह्यो ।

पहिलो हाफमा घरेलु टिमसँग गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा लगातार गोल व्यहोर्यो ।

खेलको ५१ औं मिनेटमा राहुलले गोल गर्दै बेंगलुरुलाई १-० को अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा सुनिलले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

६१ औं मिनेटमा सिल्भाको गोलबाट बेंगलुरु ३-० ले अघि रह्यो ।

खेलको ६३ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि बेंगलुरुले ४-० को अग्रता बनायो ।

त्यसपछि खेलको ६५ औं मिनेटमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै बेंगलुरुलाई ५-० को जित दिलाए ।

यस हारसँगै आर्मीको प्ले अफको फाइनल खेल्ने सपना सकिएको छ ।

बेंगलुरु भने प्ले अफको फाइनलमा पुगेको छ ।

पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ ले हराएर आर्मीले बेंगलुरुसँगको भेट पक्का गरेको थियो ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।

तपाईको प्रतिक्रिया