मतदाता नामावली: नयाँ दर्ता प्रक्रिया शुरु

काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता सुरु गरेको छ । आयोगले यसअघि निर्वाचन घोषणा भएपछि रोकेको नामावली दर्ताको प्रक्रिया नयाँ वर्षको सुरुवातसँगै खुला गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि उमेर पुगेका र नामावलीमा नाम दर्ता गर्न छुटेका नेपाली नागरिकहरुले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्ने जानकारी दिए ।

उनका अनुसार नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न उत्प्रेरित गर्ने र सो कार्यका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने-आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहहरुलाई आयोगले आग्रह गरेको छ ।

‘मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पुरा भएका नेपाली नागरिकको नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउनु निर्वाचन आयोगको जिम्मेवारी रहेको’ आयोगले विज्ञप्तिमार्फत भनेको छ ।

आयोगले नेपालभरका ७७ वटै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रूपमा गर्ने व्यवस्था मिलाइएको भनेको हो ।

मतदान गर्न योग्यता पुरा भएका कोही पनि व्यक्ति मतदान गर्नबाट वञ्चित नहुन भन्ने आयोगको अभिप्राय रहेको छ । मतदान गर्न मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वशर्त रहेको आयोगले भनेको छ ।

तपाईको प्रतिक्रिया