खानेपानीको माग गर्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण

कालिकोट : कालिकोट जिल्लाको सदरमुकाम मान्ममा खानेपानीको समस्या भएपछि यहाँका नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएका छन्।

नेपाल पत्रकार महासंघ र मानव अधिकार समूह खाँडाचक्रले जिल्ला प्रशासन कार्यालयलाई खाँडाचक्र नगरपालिका र वडा कार्यालयलाई पत्र दिएका हुन्।

केही महिनादेखि सदरमुकाम मान्ममा खानेपानी आउन छाडेपछि सम्बन्धित निकायले चासो नदिएको भन्दै नागरिक समाजका अगुवाले सम्बन्धित निकायलाई चेतावनीस्वरुप ध्यानाकर्षण गराएका हुन्। नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई खानेपानी समस्या समाधानका लागि ध्यानआकर्षण पत्र दिएका छन्।

अध्यक्ष विष्टसँगै सदरमुकाममा बसोबास गर्ने नागरिक समेत खानेपानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। महासंघले अहिले पनि सदरमुकाममा बसोबास गर्ने नागरिक खानेपानी खच्चडले भारी बोकेजस्तै २/३ घण्टाको बाटो हिँडेर ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न माग गरेको छ।

सिहदरबारको अधिकार गाउँगाउँमा पुगेको नागरिकले महसुस गर्नुपर्ने अवस्थामा नागरिकका समस्या जस्ताका त्यस्तै रहेको महासंघले ठहर गरेको छ।

सबैले स्वस्थ खानेपानी पाउनुपर्ने संविधानप्राप्त अधिकार अझै लागु नभएको भन्दै ३ वटा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र दिइएको हो। ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘ट्याङकिमा रहेको पानि पनि जिल्लाका ठुला ठूला होटल तथा निर्माणाधीन घरहरुका लागि राति चोरी निकासी गर्ने गरिएकाले तत्काल रोक्नुपर्छ।’

संयुक्त रुपमा नेपाल पत्रकार महासंघ र मानवअधिकार समूहले दिएको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सदरमुकाममा पानीको अभाव नभएको बताए।

तपाईको प्रतिक्रिया