कछुवा गतिमा नलगाड हाईड्रोपावर, आधा दशक सम्म बनेन् डीपीआर

                             बाँधस्थल रहेकाे ठाउँ   तस्विर
जाजरकोट, २७ चैत्र । जलाशययुक्त नलगाड आयोजना (४ सय १७ मेगावाट) को डीपीआर आगामी भदौ–असोज (सेप्टेम्बर) भित्र पूरा हुने भएको छ । यसको डीपीआर बन्नै आधा दशक लाग्ने भएको हो ।

ऊर्जा मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भने बमोजिम थप गरेपछि थपिएको अवधिभित्र पूरा हुने गरी काम भइरहेको छ । ‘सेप्टेम्बरमा सक्ने भनेर म्याद थप भएको छ,’ परामर्शदाता कम्पनी स्मेकतर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले भने, ‘अहिले धमाधम विभिन्न उत्खनन–परीक्षण कार्यहरु भइरहेछ ।’

सन् २०१६ मा अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम) ले नलगाड (४ सय १७ मेगावाट) को विस्तृत अध्ययन, टेण्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यात नियुक्ति भएपछि आयोगले परामर्शदाता छनौट प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै २०७३ सालको चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तर विशेष अदालतले २०७३ मंसिर १९ गते आयोगले अभियोग लगाएकाहरु सबैलाई सफाइ दिएको थियो । अख्तियारको मुद्दा अवधिभर काम हुन नसकेर डीपीआर निर्माणमा ढिलाइ भएको थियो । आयोजना प्रमुख गौतमका अनुसार विद्युत गृह तर्फको रक मेकानिक टेस्ट (भूमिगत संरचनाको स्थायित्वसम्बन्धी अध्ययन) कार्य गर्न भारतीय कम्पनी आइसकेको र उनीहरु यसै साता आयोजनास्थल पुग्दैछ । ‘विस्तृत डिजाइनका प्यारामिटरहरु हामीले कल्पना गरे बमोजिम नै आए भने समस्या हुँदैन र छिटो डीपीआर बन्छ,’ भारद्वाजले भने, ‘हामी मन्त्रालयले थप गरेको अवधिमै डीपीआर सक्नेछौं ।’

अघिल्ला ऊर्जा मन्त्री वर्षमान पुनले गत पुस ३ गते नलगाड जलविद्युत् आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) निर्माणमा भइरहेको ढिलाईप्रति रुष्ट हुँदै आयोजना प्रमुख, परामर्शदाताहरुलाई मन्त्रालयमै बोलाई चासो राखे । त्यसको पर्सिपल्ट अर्थात् पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरे । पुनले राजीनामा दिएपछि यसको म्याद थप गरिएको हो ।

सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत कम्पनी र स्मेक, एमडब्लुएच जेभी उदयबीच सम्झौता भएको थियो । यसअघि डीपीआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म ९ महिना दोश्रोपटक डीपीआरको समयावधि थप भएको थियो । दुई दशकदेखि चर्चामा रहेको यो आयोजना नलगाडमा पर्छ ।

कर्णालीको भाग्य अजमाउने आयोजना रुपमा हेरिएको नलगाडको लगानी टुंगो भने अहिलेसम्म लागिसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यसमा चासो देखाएको छ । सन् २०१२ को मूल्य (एक अमेरिकी डलर बराबर ८७ रुपैयाँ हुँदा) अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब ८ अर्ब २६ करोड रुपैयाँ छ । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो ।

 त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता ४ सय १० मेगावाट भनिएको थियो । जलाशययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने र ४ सय केभीको १ सय १२ किलोमिटर डबल सक्र्यूट प्रसारण लाइन बाँकेको कोहलपुर सवस्टेशनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महँगो भएको हो । यसबाट उत्पादन भएको बिजुली उपभोक्ता कहाँ पुग्दा प्रतियुनिट औसत १६ रुपैयाँ नौ पैसा पर्ने अध्ययनले देखाएको छ ।

नलगाड जलविद्युत् निर्माण भएमा यसले कूल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुख्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ । नलगाड नगरपालिका –७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।

नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत गृह निर्माण गर्ने प्रस्ताव छ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बनाउनुपर्छ । पाँच सय मिटर लम्बाई र दुई सय ४८ मिटर अग्लो बाँध बन्नेछ ।

तपाईको प्रतिक्रिया