
एजेन्सी : फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेका छन्।
उनले गएराति देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका छन्। उनले राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भने, ‘यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन।’
उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीलाई धैर्य गरेर आफ्नो ख्याल गर्न सुझाव दिएका छन्। यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उनले सो सम्बोधनका क्रममा बताए।
कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अतिप्रभावित देशमध्ये फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो। त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो।
पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोंले टेलिभिजन सम्बोधनमार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन्। यो पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि गरिएको बताइएको छ। लकडाउनमा मानिसलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ।
फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिब छ महिनायताकै धेरै देखिएको पनि बताइएको छ। फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ। लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ।
















































। १९ चैत्र २०७७, बिहीबार