नलगाडको रावतगाउँमा पुग्यो सडक

जाजरकोट, १८ चैत्र । जिल्लाको नलगाड नगरपालिका–१०, को साइलेसाँघु खोलादेखि रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सवै भन्दा दुर्गम ठाउँका रुपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुसी भएका छन् ।

भिरालो जमिन कडा चट्टान भएको ठाउँमा यत्ति छिट्टै सडक बन्ला भनेर कल्पना समेत नगरेका स्थानीयवासीले गाउँमै छिट्टै सडक पुगेपछि खुसीयाली छाएको बताएका हुन् । घर छेउमै मोटर बाटो बनेपछि स्थानीयहरू गदगद भएको वडाध्यक्ष भद्र बहादुर ध्यारले बताए ।

सडक नहुँदा यहाँका सर्वसाधारणहरु ५ घण्टा हिडेर चौखा आएर गाडी चढ्ने गर्दथे । डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने सडक भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जनयूद्धकालमा सवै भन्दा सुरक्षित बाटो मात्र होइन, सयौँ योजना र वैठक गर्ने क्षेत्रका रुपमा समेत यो ठाउँ चर्चित छ ।

सडक निर्माणका लागि प्रदेश सरकारको रु एक करोड ४७ लाख लागतमा खड्का कृष्ण कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घन मिटर माटो कटिङ तथा १० हजार घन मिटर कडा चट्टानको भाग कटिङ गर्नु पर्ने उल्लेख छ ।

सडक वनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न तथा स्थानीयलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी गोपाल ध्यारले बताउनुभयो । यो गाउँ अझै सञ्चार , सञ्चारमाध्यमको पहुँचबाट टाढा रहेको छ ।

तपाईको प्रतिक्रिया