आहा ! बारेकाेट

विकासको लहर

DSC_0390कालीबहादुर नेपाली
जाजरकोट, १२ चैत्र । सदरमुकाम खलंगा बाट नलगाड नदिको तिरैतिरै हुदैँ गाडीमा पाँच घण्टा हिडेपछि बारेकोट पुगिन्छ । बारेकोट पुग्ने जोसुकैको ध्यान मगर समुदायको बसोबास रहेको ठाउँ सिर्पाचौर पुग्छ । चट्ट परेको गाउँ । वरीपरि हरियो वनजंगल । विचमा आफ्नै सुरमा बगिरहने कोटिल्ली खोला । बारेकोट गाउँपालिका भित्रका अनुपम दृश्य हेर्न मिल्ने ठाउँ । कतै जस्ता, कतै खर र कतै ढुंगाले छोइएका घर ।

राज्यको नजर बारेकोटमा नपुगे पनि यहाँका प्राकृतिक, संस्कृतिक, रहनसहन र मिलेका बस्तीहरु देखेर बारेकोट पुग्ने जति सबैले स्वर्गको एक टुक्रा रहेछ भनेर फर्केने गरेका छन् । जन्ते, चाखुरे हिमाल हिउँले ढाकिएको दृश्यको अवलोकन गर्न मिल्ने ठाउँ । मगर समुदायको आफ्नै बोलि, भेषभुषा, रहनसहन, पाहुनालाई भगवान् ठान्ने संस्कार आदिले सिर्पाचौरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै छ । देश संघीयतामा गई सकेपछि साविकको रामीडाँडा, रोकायगाउँ, सक्ला र नायकवाडा मिलेर बारेकोट गाउँपालिका बनेको छ ।

DSC04587

रामीडाँडाको सिर्पाचौर, बयाल, धौलाकोट, माथि आगर, सिनाकोट, कोटिल्ली लगायतका क्षेत्रमा आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको छ । सिर्पाचौरमा निर्माण गरिएको भ्युटावर बाट पुरै बारेकोट नियाल्न पाउने भएपछि यहाँ पर्यटकको भिड लाग्ने गरेको स्थानीय हरिबहादुर थापाले बताए । रोकायगाउँको मुल्साम, रुमसिल, वुढागाउँ, गैरागाउँ, अयर्ना,सेरी र लिम्साका पनि छुट्टै विशेषता छन् । अहिले विश्व २१ औँ शताब्दीमा रहेको छ, तर रोकायगाउँको मुल्सामका स्थानीयको जनजीवन हेर्दा १८ औँ शताब्दीको जस्तो लाग्छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि र पुशपालन रहेको छ । महिनावारी हुदाँ समेत यहाँका महिलाहरु अहिले पनि गोठमा बस्ने गरेको स्थानीय दिलबहादुर महरको भनाई छ ।

उनले भने, ‘यहाँका मानिसको जनजीवन पुरानै शैलीको छ, निगालोका डोको, डालो, सुपा निर्माण गरि कतिले त जीवन निर्वाह नै गर्ने गरेका छन् ।’ अशिक्षा र गरिवीका कारण यहाँका अधिकांश महिलाहरु सुत्केरी हुदाँ, महिनावारी हुदाँ गोठमा बस्ने चलन कायमै रहेको उनको भनाई छ । यहाँ भएका विकृति र संगतिलाई त्यहाँका रहेको रहनसहन, भौगोलिक विविधताले त्यहाँ पुगेका पर्यटकलाई विस्याईदिन्छ । नलगाड नदीको उद्गम स्थल रहेको मुल्साममा खानेपानीको भने समस्या छैन । ढुंगाले छोएका घर, वरीपरीको जंगलले दिने हावाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन निकै भुमिका खलेको स्थानीय दलजित कामीले बताए ।

11730001

उनले भने, ‘बारेकोटमा पाइने गाभा पनि यहाँ उत्पादन हुन्छ, मानिसहरु प्राकृतिक रुपमा रमाईलो भएकोले यहाँ पनि मानिसहरु आउने गरेका छन ।’ नायकवाडाको दह, साईक्वाँरी,ढोटाचौर, राँगामाँचिलाको मन्दिरले पर्यटकलाई आकर्षण गर्ने गरेको बारेकोट ४ का हरीगोपाल सिंहले जानकारी दिए । भदौँ महिनामा लाग्ने राँगामाँचिलाको मन्दिरमा देशको राजधानी काठमाडौका मानिसहरु समेत पुजा गर्न आउने समेत बताए । नायकवाडाको जिरी, मैना, गोठगाउँ, कालाखोली, जालतरी, धुमा ताँसी लगायतका ठाउँको फरक फरक चालचलनले मानिसको मन निकै लोभ्याउने गरेको छ । सक्ला गाविसका, सुवाकोट, छुतिपाल्ती, जुगेनाका, सेपुखोला, सक्ला लगायतका क्षेत्रहरुमा समेत पर्यटकहरुको आउने गरेको स्थानीय लोकेन्द्र गौतमले जानकारी दिए । उनले भने, ‘सेपुखोलामा सबैको नजर जाने गरेको छ ।

11710004

खलंगा लगाउतका क्षेत्रहरु बाट आउँदा यहाँका स्थानीयहरु सेपुखोलालाई स्वर्गको टुक्रा समेत भन्ने गर्छन ।’ संघीय सरकारको आर्थीक सहयोगमा सक्लामा बन्न लागेको कस्तुरी पालन गृहको भवनले पनि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नलगाड हाईड्रोपावरको मुख्य केन्द्र यही रहेकोले समेत स्थानीयको यहाँ बाट बसाई सार्नुपरेको वडाध्यक्ष शसीराम गौतमले जानकारी दिए । पछिल्लो समय सडक सञ्जालमा बारेकोट जोडिए संग यहाँका मानिसहरुलाई सदरमुकाम खलंगा सम्म जान, आउन निकै सजिलो भएको नेकपा माओवादी केन्द्रका नेता तिलकबहादुर रावतले बताए ।

स्थानीय सरकाले बनेपछि बारेकोटका नौँ वटै वडाहरु सडक सञ्जालमा जोडिएका छन् । सडक पुगेपछि बारेकोट गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाहीेले बताईन् । उनले भनिन्, ‘पालिका सडक सञ्जालमा जोडिए संगै यहाँका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रमा पर्यटकहरु थपिदै आएका छन् । हामीलाई पनि लागिरहेको छ ।

यसले बारेकोट गाउँपालिकामा विकास भईरहेको छ ।’ भौगोलिक विकटताका कारण खाद्यान्नमा संकट बेहोरी रहने बारेकोट । सडक पुगेपछि खाद्यान्नको लागि निकै सजिलो भएको स्थानीयहरु बताउँछन् । अभावले मात्रै होइन्, सम्भावनाले पनि भरिएको बारेकोटमा भौतिक विकास संगै मानविय विकासलाई जोड्न सकियो भने अवको एक दशकमा बारेकोट जिल्लाकै नम्बर एक स्थानीय तह नबन्ला भन्न सकिन्न । तस्विर :  सुरेन्द सुमन

तपाईको प्रतिक्रिया