जुम्लाका रैथाने कृषि उपजको माग बढ्दो, उत्पादन घट्दो

जुम्ला : कुनै समय उत्पादन भएर पनि बजार नपाउँदा खेर जाने गरेको जुम्लाका कृषि उपजहरूको माग अहिले देश-विदेशबाट हुने गरेको छ। तर, माग बढिरहँदा उत्पादन भने घटिरहेको छ।

करिब ५ वर्ष यता जुम्लाका रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ। यहाँ चालू आर्थिक वर्षमा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ। आर्थिक वर्ष २०७४/७५ मा करिब २७ हजार मेट्रिकटन हाराहारीमा कृषि उपज उत्पादन भएको थियो।

सरकारी तथ्यांक अनुसार यस वर्ष जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ। आर्थिक वर्ष २०७४ देखि ०७६ सालसम्म २७ हजार १ सय १३ मेट्रिक टनभन्दा धेरै रैथाने बाली उत्पादन भइरहेको थियो। तर, यो बीचमा १४ हजार मेट्रिक टनले घटेर चालू आर्थिक वर्षमा १२ हजार मेट्रिकटन मात्रै उत्पादन भएको हो।

सरकारी तथ्यांक हेर्दा जुम्ली रैथानेबाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट भएको छ। जुम्लामा १४ हजार मेट्रिकटन टन रैथाने खाद्यान्न बाली उत्पादन घटेको छ।

यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन, गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६० कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ। जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ।

सिमी ३ हजार ९ सय ६० मेट्रिकटन, दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ।

तेल बाली ८५ मेट्रिकटन, वर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको छ।

पछिल्लो समय जुम्ली मार्सी चामल र सिमी अन्तराष्ट्रिय बजार क्यानडादेखि अन्य विदेशमा समेत बिक्री हुन थालेको छ। नेपालकै चर्चित ब्राण्ड जुम्ली मार्सी चामल र सिमीको अन्तराष्ट्रिय बजारमा माग बढेपछि क्यानडामा बिक्री थालेको हो।

स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायी मानिने जुम्लाको रैथाने बाली मार्सी चामल, सिमी, कोदो लगायत अन्य कृषि वस्तुको अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएको हो। अन्तराष्ट्रिय बजारको मागलाई मध्यनजर गर्दै पहिलो पटक ठूलो परिणाममा जुम्ली मार्सी चामल, सिमी, कोदोलगायत जुम्ली कृषिजन्य वस्तु क्यानडा पठाएको छ। पहिला नेपालको बासमती चामल लिएर बेच्ने (लायम फुड कर्पोरेशन) क्यानडाले यसपटक जुम्ली मार्सी लिएको हो।

कर्पोरेशनको सहकार्यमा चन्दननाथ नगरपालिका–१० बारकोटेवाडा राज शाहीले २० टन जुम्ली मार्सी चामल, सिमी, कोदो क्यानडा निर्यात गर्ने तयारी गरेका छन्।

करिब ५० लाख भन्दा माथि मूल्य बराबरको कृषि जन्य बस्तु क्यानडा निर्यात गरेका हुन्। १ सय ३० क्विन्टल मार्सी चामल, ५० क्विन्टल सिमी, १० क्विन्टल कोदो र १० क्विन्टल बेसार गरी २ सय क्विन्टल अर्थात २० टन कर्णालीको कृषि उपज क्यानडा पठाएका हुन्।

शरीरलाई पोषण दिने तथा विभिन्न रोगको औषधीकै रुपमा काम गर्ने जुम्ली रैथाने अन्न बालीको प्रवर्द्धनमा जुम्लाका सबै स्थानीय तहको साझा नीति हुनुपर्ने किसान धनबहादुर बुढाले बताए। उनले भने, ‘रैथाने बालीको महत्व बुझेर हामी पुन रैथाने बालीको खेतीमा जुटेका छौं।’

अर्का किसान अर्जुन बुढाले गाउँगाउँमा रैथाने बालीको खेतीका लागि जनचेतना फैलाउनुपर्ने, रैथाने खेती गर्नेलाई अनुदान दिने, प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन समेत आवश्यक रहेको बताए।

कृषि विकास कार्यालयका कृषि प्राविधिक लक्षिराम महतले विगतको तथ्यांक हर्दा दोब्बरले रैथाने बाली उत्पादन घटेको बताए। उनले भने, ‘अधिकांश किसान कम परिश्रम गरेर धेरै उत्पादन गर्ने दाउमा छन्, जसले रैथाने बाली उत्पादन घट्दै गएको हो।’

कर्णाली प्रदेश सरकारले रैथाने बाली तथा अर्गानिक खेती कार्यक्रम संचालन गरेको छ। विश्व बजारमा माग बढ्दै गएको जुम्ली मार्सी, सिमी, फापर, चिनो र कागुनोको रैथाने बाली उत्पादन गर्न झन्झटिलो र जुम्ला अर्गानिक जिल्ला घोषणा भएकाले रोग कीरा निराकरण गर्न रसायनिक विषादी प्रयोग गर्न नमिल्ने जस्ता कारणले उत्पादन बढ्न नसकेको हो।

कृषि पेशालाई अपहेलना गर्ने, युवा वर्ग विदेशिने र बृद्ध नागरिक यस पेशामा संलग्न भएका कारणले पनि उत्पादनमा गिरावट आएको छ। तर, देशदेखि विदेशसम्म माग बढ्दै गएपनि यी खाद्यान्नहरूको उत्पादन घट्दो छ।

उर्वर भूमि मासिँदै

भद्रगोल बस्ती विस्तारले जुम्लाको उर्वर भूमि मासिँदै गएको छ। रैथानी बालीको संरक्षण भन्दा आयातित बीउलाई प्राथमिकीकरण दिनुले जुम्लाका रैथाने बालीहरूको उत्पादकत्व र उत्पादन बढ्न नसकेको हो।

रैथाने बालीको विषयमा राज्य स्वयम्‌ तथ्यांक विहीन छ। वास्तविक किसान र उर्वर भूमिसँगै श्रम र बजारको ठोस योजना विहीन हुँदा पनि उत्पादनमा वृद्धि हुन नसकेको हो।

सडक जोडिएपछि जुम्लाको रैथाने अन्नबाली लोप भएको आयातित खाद्यान्नको प्रयोग बढेको छ। शरीरलाई पोषण दिने तथा विभिन्न रोगको औषधिकै रुपमा काम गर्ने जुम्ली रैथाने अन्न बालीको प्रवर्द्धनमा राज्यको ध्यान नपुगेको किसानको अर्जुन बुढाको भनाइ छ।

सरकारी निकायहरूको बीचमा साझा योजना छैन। स्थानीय तहले जताततै भौतिक संरचना बनाउन अनुमति दिने र जथाभावी संरचना खडा गर्दा खेतीयोग्य जमिन मासिँदै गएको हो।

तपाईको प्रतिक्रिया