
जाजरकोट, ३ चैत्र । जिल्लाका सात वटै स्थानीय तह सुकुम्वासीको पीडा सुन्न तयार भएका छन् । सोमबार भुमि सम्बन्धी समस्या समाधान आयोग जाजरकोटको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रममा सकुम्वासीहरुको समस्या समाधानमा तयार रहेका बताएका हुन् । सरकारले सकुम्वासी, अव्यवस्थित जमिनमा बसोवास गर्ने र दलित परिवारका लागि जग्गा जमिन उपलब्ध गराउने भन्दै प्रक्रिया अघि बढाएको छ ।
सोही अनुरुप जिल्लाका सात वटै पालिकाहरुका प्रतिनिधीहरुलाई अभिमुखीकरण तालिमको व्यवस्था गरी सम्झौता समेत गरिएको भुमि सम्बन्धी समस्या समाधान आयोग जाजरकोटका अध्यक्ष नवराज सिंहले जानकारी दिए । उनले भने, ‘भेरी नगरपालिकाले पहिले नै सम्झौता गरिसकेको र बारेकोट गाउँपालिकाले जिल्लामा शाखा गठन भएपछि सम्झौता गरेको र अन्य पालिकाहरु संग सोमबार सम्झौता गरिएको छ ।’
निष्पक्षताका साथ यहाँका नागरिकहरुको पीडा सुन्न तयार भएको समेत अध्यक्ष सिंहले बताए । छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महताराले नगरपालिका भित्रका जनताको पीडा सुन्न स्थानीय सरकार तयार भएको बताए । उनले भने, ‘हामी नगर भित्रका जनताको पीडा सुन्न तयार छौँ, सुकुम्वासी, अव्यवस्थित बसोबास गरेका नागरिक, दलित समुदायका नागरिकलाई पहिलो प्राथमिकतामा राखि काम गर्नेछौँ ।’
नलगाड नगरपालिका उपप्रमुख बालकुमारी बस्नेतले कस्ता नागरिकलाई जग्गा उपलब्ध गराउने भन्ने अन्यौलमा रहेको बताईन् । उनले भनिन्, ‘थोरै जग्गा भएका नागरिकलाई सुकुम्वासी भन्न मिल्छकी मिल्दैन्, कस्ता नागरिकलाई जग्गा दिने यही प्रश्न स्थानीय सरकारलाई खटकी रहेको छ ।’ तर पनि हामी नगर भित्रका जनताको पीडा सुन्न तयार रहेको उनको भनाई छ । जिल्लाका सात वटै स्थानीय तहका जनप्रतिनिधीहरु आफ्ना जनताको पीडा सुन्न तयार रहेको जिल्ला समन्वय समिती जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्माले जानकारी दिए ।
उनले भने, ‘यहाँका सात वटै स्थानीय सरकार आम जनताको पीडा सुन्न तयार रहेका छन्, सुकुम्वासी रहेका दलित परिवारका लागि पहिलो प्राथमिकतामा रहेर काम गर्नेछौँ ।’ अभिमुखीकरण कार्यक्रममा भेरी नगरपालिकाका वडाध्यक्ष, पत्रकारहरुले आम जनताको समस्याका विषयमा प्रश्न उठाएका थिए ।
जिल्लाको भुमिहीन भएका नागरिकका लागि निष्पक्ष, पार्दशिताका साथ काम गर्न आग्रह गरिएको पत्रकार महासंघ जाजरकोटका कोषध्यक्ष दीपबहादुर घर्तीले जानकारी दिए । उनले भने, ‘यस भन्दा पहिले बनेका आयोगहरुले राम्रो काम गर्न सकेनन्, अहिले बनेको आयोगले पनि राम्रो काम गर्न सक्छन् भन्ने आम नागरिकमा कमै विश्वास छ ।’ त्यसैले विश्वासीलो काम गर्न सबैलाई आग्रह गरिएको उनको भनाई छ ।
















































। ३ चैत्र २०७७, मंगलवार