
कमरेड प्रचण्ड
नमस्कार । तपाईलाई लाल सलाम गर्ने हैसियत अहिले म सित छैन । जहाँ हुनुहुन्छ , मानसिक र शारीरिक दुवै हिसावले स्वस्थ हुनुहुन्छ भन्ने अपेक्षा लिएको छु । जीउँदै हुदाँ पनि पल पल मरीरहनुपर्ने यी सबै सहिद तथा बेपत्तायोद्धा सन्ततीहरुको तर्फबाट दुई शब्द
कमरेड ! बहादुरीतापुर्वक मृत्युलाई अंगाल्नुहुने सहिदको सन्तति बन्ने सौभाग्य या दुर्भाग्य मिल्यो । सौभाग्य भनौं भने आज महान सहिदका सपनाहरु लथालिङ्ग छन, देशले हामीलाई सहिद सन्तति हैन द्वन्द्व प्रभावित भन्छ । दुर्भाग्य भनौं भने कल्पना गरौ त हामिलाई समान्य चोट लाग्दा ठेस लाग्दा कति दुख्छ भने ,म मर्छु भनेर जानी जानि देशको लागि आफ्नो ज्यानको बलिदान हामी जो कोहीले गर्न सक्दैनौं,सायद तपाईले पनि ।
हजुरको छोरा मर्नु दुर्भाग्य हो तरपनी तपाईको आफ्नो छोरा प्रकाश काल गतिले मर्दा तपाईका आँखा रसाएका थिए,हामीलाई पनि धेरै दुःख लागेको थियो । हजुर जस्तो त्यति ठूल्ठूला भिडन्त देखेको कैयौं साथीहरूलाई युद्धमा गुमाएको मान्छे त आफ्नो सन्तान मर्दा रुनुभयो भने कल्पना गर्नुहोस् हामीले त हाम्रो अभिभावक गुमाएका छौ, जसले हामीलाई लालनपालन देखि शिक्षा स्वास्थ्य दिलाउन अहोरात्र मेहनत गर्नुहुन्थ्यो । आज हामी सबै १४ हजार सहिदका २८ हजार सहिद सन्तती ,बेपत्ता ,घाइतेको त कुरै नगरौं हाम्रो हकिगत के होला ? के साच्चै यस्तै दिन देख्न हिजो आफ्नो ज्यान दिएका हुन हाम्रा अभिभावकले ? यहि दिन देख्न बेपत्ता घाइते बनाइएका हुन तपाईका समर्थक ? के यस्तै थियो सहिदको सपना ? के तपाईंले आफ्नो भ¥याङ मात्र बनाउन प्रयोग गर्नु भयो रोल्पा लगायत सिङ्गो देशलाई ? श्रम गरेर परिवार पाल्ने निहत्था ट्याक्सी ड्राइभरको ट्याक्सीमा आगो लगाउने यहि हो तपाईंको सपना ? चिया बेचेर साना नानीहरूको पेट भर्ने पसलेमाथि लाठी प्रहार गर्दै तोडफोड गर्ने को ? यस्तै प्रश्नहरुको गोलचक्र बिचमा उभिएको छु अचेल ।
कमरेड! आज देशलाई निस्वार्थ प्रेम गर्नेहरुका सन्ततिको भबिष्य अन्धकार भएको अभिभावक बिहिन टुहुरा भएका छौँ भने हामीले तपाई संग आफ्नो दुःख नपोखेर को संग पोख्नु ? यो देशमा निर्मम्तापुर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाँउछन् । गैँडा मार्ने तस्करहरु तारे होटेलहरुमा शासकहरु संग लन्च र डिनर गरीरहँदा प्राण धान्न जंगल पसेको चेपाङ मारिन्छन् । दशगजामा टाउको फुटाउने नेपालीहरु (मधेशी जाति धोती र भारतिय एजेन्ट भनेर अपहेलित छन् । निर्मला जस्ता चेलिबेटी बलात्कारीहरु खुलेआम बसिरहेका छ्न । प्रहरीकै मिलेमतोमा निर्दोष युवा मारिन्छ्न् । राम्रोसँग आफ्नो कुरा समेत राख्न नसक्ने गवार हरु मन्त्री भैरहेका छ्न । राम्रो अध्ययन गरेका युवा विदेशीनुको विकल्प छैन । देशको भुभाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु राता रात राष्ट्रवादी भएका छन् ।
सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिष्य देख्दै बिश्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् । तपाईलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु विकल्प सोच्नै सकिरहेका छैनन् । कमरेड ! आँखै आगाडीका यी दृश्यहरु तर चुपचाप शालिक झैँ बस्नु पर्ने म अनि तपाईं । के म चेतनशील प्राणी हुँ ? के जिउनु को अर्थ यही हो ? बडेमाको घनले टाउकोमा हिर्काए झैँ ठोकिरहन्छन यी प्रश्नहरु ।
कमरेड तपाईलाई तपाईका कार्यकर्ताले झापड र चप्पल प्रहार गर्दा लाग्थ्यो, किन यस्तो गरेका होलान ? तर जबजब तपाईंको बारेमा जान्दै बुझ्दै गए । तपाई त दश बर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनको सुपरिम कमान्डर बनेर रोल्पा रुकुम कालिकोट जुम्ला लालकिल्ला बनाई जरा गाडी बसेको राजतन्त्र फाल्न हैसियत राख्ने र सार्वभौमसत्ता नेपाली जनतामा निहित बनाउन सक्ने महान ब्यक्ति हुनुहुदोरहेछ । अहिलेको समावेशीकरण जागिर जातका आधारमा खाने व्यवस्थाको सुरुवात तपाईको पहलमा भयको हो रे । यतिधेरै सोच्ने तपाईंको दिमागले एकपटक तपाईंका सहयात्री सहिदका सन्ततिको अबस्था के होला ? बेपत्तायोद्धाका आफन्तहरु के गरिरहेका होलान ? घाइतेको अवस्था के होला भनेर सोच्न भ्याउनु भएन है……
एकपटक तपाईं आफै आत्मासमिक्षा गर्नूहोस कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब , सहिद परिवार , बेपत्ता परिवार , घाइते जन , ज्यालामजदुरी काम गरिखाने मजदुर दलित निम्न वर्ग भनिने सबै र सुकुम्वासी किन प्रचण्ड प्रति यति रूष्ट छन् ? हिजोसम्म कम्युनिष्ट भनेर चिनिने तपाईलाई आज यिनैले गद्दार , दलाल र पूजीपतीको नाम किन दिदैछन् ?
पहिले आफू स्थापित हुनलाई सोझा साझा जनतालाई भिडाउछन् , आफू पदमा पुगेपछि कुर्सीकै तानाखिची गर्छन् , दुःखमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यसो हुनुमा दुईवटा कारण हुन सक्छ । पहिलो कताबाट शक्तिमा पुग्न सकिन्छ भनेर कहिले काङ्ग्रेस ? कहिले एमाले ? त कहिले राप्रपा संग गठबन्धन गर्नू , सम्झौतामा तल्लीन हुनु,अर्को कम्युनिस्ट पार्टीको आफ्नै बिचार नीति सिद्धान्त हुन्छ , जसलाई कुल्चिएर अगाडी हिड्ने तपाईंको बानी ? आफ्ना सहकर्मी हिजो संगै यात्रा गर्दाका सहयात्री एउतै बिचार बोकेका(बैद्य,विप्लप,बाबुराम) हरुले सचेत बनाउँदा तपाईंको घमण्ड उत्ताउलो बन्यो, लचिलो हुन सकेन् र परिणाम अहिले एक्लिनु परेको छ ।
जहाँ अन्याय हुन्छ त्यहा बिद्रोह हुनू स्वभाविक कुरा हो । जसलाई नेपाली जनताले गरेका विभिन्न आन्दोलनले स्पष्ट पारिसकेका छन । नेपाली जनता आफ्नो ज्यानको प्रवाह नगरी सहिद बन्न घाइते बन्नपछि हटेनन्, डराएनन् किनभने उनीहरुलाई सपनाहरू देखाइएको थियो । जुन सपनाहरू एउटा सुन्दर देश जहाँ नारीहरू पुरुष सरह नभई दोस्रो दर्जाको नागरिक भएर बाच्नु पर्दैन , जहाँ हाम्री दिदिबहिनीहरू छोरी चेलिहरू भारत लगायतका अन्य दोस्रो मुलुकमा भोगविलास तथा दासीको रूपमा बेचिनू पर्दैन , जून व्यवस्थामा नेपालका दलितमाथि कूनै दमन हूर्दैन , समानता छाएको हुन्छ । जहाँ सुकुम्वासीले त्रिपाल टाँगेर चिसो हुरी बतासमा कहाली लाग्दो जीवन बाँच्नूपर्दैन ,जहाँ नेपालका यूबाहरू खाडीमूलुकमा नोकर चाकरको ,दासको जीवन बाँच्नूपर्दैन , जून व्यवस्थामा कोही नेपाली भोकै हुदैन , जहाँ सबै नेपालीलाई गाँस , वास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्र जीवन मिल्नेछ ।
जहाँ गरिब र धनीले लिने शिक्षामा अन्तर हुनेछैन । त्यस्तो व्यवस्था सिर्जना गर्ने उदेश्यका साथ २०५२ फाल्गुन १ गते नेपालमा पनि (माओबादी ) ले क. प्रचण्डको नेतृत्वमा जनयुद्धको सङखघोस गरे संगै देशमा मार्ने र मर्ने जस्तो जटिल परिस्थिति सिर्जना भयो । तर आज सहिदको सपनालाई १० लाखमा साट्ने , देशका नदीनाला बेच्ने , ब्यक्तीगत स्वार्थमा तल्लीन हुने , जनबादी शिक्षा ल्याउँछौ भन्ने वहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ ।
कमरेड राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दु ख पाउन सुहाउँछ र ? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग नेपालका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । जनता सँग तपाईंप्रतिको बिश्वास पनि बढेको थियो । जो अहिले हराएको छ । अब म तपाईको क्षमता माथि प्रश्न गर्न चाहन्न । हिजो तपाईंको साथमा हुनु भएका क. बिप्लव र बाबुराम टुटनु वा फुट्नु को कारण पत्ता लगायर एकताका साथमा लाग्नुभए धेरै उत्तम हुनेथियो ।
काम गर्दा पनि कहीँ न कहीँबाट नकारात्मक टिप्पणी त आइ नै हाल्छ्न् । तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नुपर्ने समय रहेछ । जनताको दुःखमा भौगोलिक विकटतामा , दलित , पिछडिएको वर्ग सबैलाई समतामूलक व्यवहार गर्दै सुखी र खुशी नेपालीको परिकल्पना स्वरोजगारको सिर्जना विभिन्न कलाकारखाना खोली नेपालको कायापलट गर्ने अभियान सहित तपाईको सहभागिता देख्न पाउने आशा गर्दछु । अन्त्यमा मेरो अनुरोध हाम्रा आमा बुवाहरु कुनै पार्टीका सहिद हुनुहुन्न, कुनै पार्टीको लागि आफुलाई बलिदान गर्नुभएको हैन ।
कमरेड । यी मेरा जिज्ञासा र छटपटीवाट छिट्टै मुक्त हुनेछु भन्ने बिश्वासका साथ बिदा ।
तपाइले जाने बुझेको–
अघोषित सहिदपुत्र
तेज बिक्रम ओलि
रोल्पा
















































। २ चैत्र २०७७, सोमबार