२४ फाल्गुन २०७७, सोमबार
ताजा खबर
  

अझै पाउँदैनन् महिलाले समान ज्याला

गिट्टी कुट्दै जुम्ला जाजरकाेट सडक खण्डमा महिलाहरु

 

जाजरकोट, २४ फागुन । जिल्लामा मजदुरी गर्ने महिलाको संख्या बढेको छ । अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुक जाने भएकाले मजदुरी गर्ने काममा महिलाहरू नै अग्रसर हुन थालेका हुन् ।

यहाँ विकास निर्माणका कामका पनि महिलाहरु सहभागी हुने गरेका छन् । घरभित्रको काममा सीमित महिलाहरू पछिल्लो समय दैनिक ज्यालादारी मजदुरीमा काम गर्ने व्यस्त छन् । तर पुरुष जतिकै काम गरेपनि महिलाहरुले श्रम गरे बापत पाउने ज्यालामा भने एकरुपता छैन । भनिन्छ, नारी र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् ।

नारी विनाको समाजको कल्पना गर्न सकिँदैन् । संविधानमा पनि महिला र पुरुष बराबर भनि लेखिएको छ । संविधानमा लेखिएको भएपनि महिलाहरु प्रत्यक्ष होस् या अप्रत्यक्ष रुपमा अहिले पनि पछाडि नै पारिएको छ । घरायसी काम होस् या विकास निर्माणको काम होस् महिलाहरु अहिले पनि पछाडि नै पारिएका छन् । श्रमको ज्यालामा महिलाहरुलाई विभेद छ ।

महिलाहरुले पनि पुरुष जत्तिकै समान काम गरेपनि पुरुषको तुलनामा ठेकेदारहरुले पारिश्रमिक कम दिने गरेका महिलाहरुले गुनासो गरेका छन् । रोजगारदाता कम्पनीहरूले महिलालाई दोस्रो प्राथमिकतामा राख्छन् । पुरुष जत्तिकै दैनिक आठ घन्टा काम गर्दा पनि पारिश्रमिक पाउँदा भने पुरुषको तुलनामा २ सय रुपैयाँ सम्म कम पारिश्रमिक पाउँदै आएको बारेकोट गाउँपालिका २ रोकायगाउँकी मिना विकले दुखेसो पोखिन् । बढ्दो शहरीकरण र श्रमबजारमा पुरुषसँगै महिलाहरूको संख्या बढिरहेको अवस्थामा ज्यालामा हुने भेद फरक हुन नहुने श्रमिक महिलाहरूको भनाई छ । मिस्त्रीभन्दा मजदुरको पारिश्रमिक कम हुने र आफूहरुलाई पनि उनीहरु बराबरकै पारिश्रमिक हुनु पर्ने अर्की स्थानीय कालिका रोकायको भनाई छ ।

‘काम गर्ने बेला पुरुषको भन्दा बढि गर्छौ, तर ज्यालामा भने हामीलाई विभेद ग¥यो,’ उनले भनिन्, ‘मजदुरी गरेर साँझ बिहान खानाको जोहो गर्छौ, मजदुरी गरेर नै परिवारको खर्च र छोराछोरीको पढाई खर्च यसैबाट धानिरहेका छौं तर, पुरुषको तुलनामा कम पैसा पाउँदा निराश छन् । दैनिक ज्यालामजदुरी गरेर जीविको पार्जन महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका उनीहरुको छ ।

लैङ्गिक समानताका लागि नियमहरू बनेका भए पनि तिनको कार्यान्वयन प्रभावकारी नभएको विज्ञहरू बताउँछन् । महिला सशक्तिकरणबारे जति चर्चा भएपनि यथार्थमा भने महिलाका लागि खासै धेरै परिवर्तन नभएको भन्दै महिलाहरूको भनाई छ । महिलाहरू शारीरिक रूपमा कमजोर हुने र त्यसैले कम ज्याला दिइने तर्क गलत रहेको उनीहरू बताउँछन् । ज्याला विभेदमा पनि पहिलेको तुलनामा अहिले धेरै परिर्वतन भइसकेको अवस्था छ ।

ठेकेदारमा भने पहिलेदेखि नै चलेको चलन भएको भन्दै महिला मजदुरलाई पुरुषको तुलनामा कम पारिश्रमिक दिँदै आएको स्वीकार गर्दछन् । ज्यालामा समानता, महिला भेदभाव न्यूनीकरण, आवश्यक कानुन निर्माणमा सरकारले काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । महिलाले गर्न नसक्ने काममात्र भने कहिकतै भेदभाव त्यो पनि श्रमिकहरूकै मञ्जुरीमा रहेको पाइएको छ ।

सैद्धान्तिक र व्यवहारिकमा केही फरक पाइएमा मन्त्रालयले उजुरीको आधारमा न्याय दिलाउन तयार रहेको श्रम तथा रोजगार मन्त्रालय बताउँदै आएको छ । ज्यालामा हुने विभेद हटाउन सरकारको श्रम प्रशासन प्रभावकारी हुन आवश्यक रहेको श्रम अधिकारकर्मीहरू बताउँछन् यसका लागि उचित कानुन निर्माण हुन जरुरी रहेको छ । अहिलेको कानुनले अनौपचारिक क्षेत्रलाई नसमेटेको बताइएको छ ।