
फाईल तस्विर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आइतबारदेखि देशभरि ६ हजार खोप केन्द्रमार्फत कोरोना भाइरस विरुद्धको खोप प्रदान गरिने जनाएका छन् । उनले १० दिन ६५ वर्षमाथि र त्यसलगत्तै ५५ वर्षमाथि खोप लगाइने बताए । १७ लाख ६५ हजार भन्दा बढी ६५ वर्ष भन्दा माथिको जनसंख्या रहेको अनुमान छ ।
कोरोना भाइरसको संक्रमण भए मृत्युदर ६५ वर्षमाथिको उमेर समूहमा बढी भएकाले यो चरण निकै नै महत्वपूर्ण रहेको मन्त्री त्रिपाठीले बताए । उनले खोपको उपलब्धता विश्वभरमै गाह्रो भएकाले जतिसक्यो बढी यसको फाइदा उठाउन पनि आग्रह गरेका छन् । उनले नेपाली खोप सबै नेपाली जनतालाई लगाउनका लागि आफू नर्कमा जान पनि तयार रहेको बताए । उनले ५५ वर्षभन्दा माथिकाले १० दिनपछि लगाउने र त्यसपछि खोप बाँकी भयो भने अन्य उमेर समूहलाई लगाउने स्पष्ट पारे । उनले आफूले एक महिनादेखि आफूले सामना गरेको चुनौतीबारे खुलाउँदै नेपाली रेडियो नेटवर्कसँग बिचौलियाहरुको बिगबिगी रहेको बताएका छन् ।
उनले एक दिन स्वेतपत्र नै जारी गर्ने बताएका छन् । मन्त्री त्रिपाठीले निजी क्षेत्रले पनि यो खोप ल्याउन सक्ने बताएका छन् । निजी क्षेत्रलाई बढीमा १० प्रतिशतसम्म मात्रै कमिशन खाएर खोप ल्याउन सक्ने गरी आह्वानसमेत गरेका छन् । त्योभन्दा बढी कसैले खान नसक्ने पनि उनले स्पष्ट पारेका छन् ।
उनले अक्सफोर्ड एक्स्ट्राजेनेकालाई अनुमति दिएको र चिनियाँ खोपलाई पनि अनुमति दिएको बताए । अन्यले भने अहिलेसम्म खोप दिने बारेमा केही नभनेको बताए ।
अहिलेसम्म भारतबाट मात्रै नेपालले कोभिशिल्ड खोप ल्याएको छ । भारतबाट पहिले १० लाख खोप अनुदानमा पाएको थियो भने त्यसपछि नेपालले २० लाख खोप प्रति डोज ४ डलरमा नेपालले किनेको छ । यसअन्तर्गत १० लाख खोप ल्याइसकेको छ भने बाँकी खोप ल्याउँदै गरेको मन्त्री त्रिपाठीले बताए । आइतबारै ‘कोभ्याक्स’ को ३ लाख ४८ हजार डोज पनि आउँदै गरेको मन्त्री त्रिपाठीले बताए ।
#hamra kura#
















































। २३ फाल्गुन २०७७, आईतवार